बिहीबार, २१ श्रावण, २०८३ (1785867300)
बुधबार श्रावण २०, २०८३

दुर्गम जिल्लामा कार्यरत डाक्टर रामबाबु जोशी अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित 

 सोलुखुम्बु :  जिल्ला अस्पताल फाप्लुमा कार्यरत डाक्टर रामबाबु जोशी अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित हुुनुभएको छ । न्युजिल्यान्डमा सम्पन्न २१ औँ वाङ्का वल्र्ड रुरल हेल्थ कन्फरेन्स (२१ औँ विश्व ग्रामीण स्वास्थ्य सम्मेलन) मा  डाक्टर रामबाबु जोशी अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित हुनुभएको हो । ग्रामीण समुदाय, ग्रामीण स्वास्थ्य प्रणाली तथा ग्रामीण स्वास्थ्य जनशक्तिमा पु¥याएको सकारात्मक योगदानको कदर गर्दै उहाँलाई रुरल वाङ्का अवाड्र्स अन्तर्गत “बेस्ट लाइटनिङ टक २०२६“ प्रदान गरिएको हो। वाङ्का वर्किङ पार्टी अन रुरल प्राक्टिसका अध्यक्ष डाक्टर प्रत्युष कुमार र हाउओरा ताइव्हेनुआ रुरल हेल्थ नेटवर्ककी अध्यक्ष डाक्टर फियोना बोल्डेनद्वारा हस्ताक्षरित सम्मानपत्र सम्मेलनका क्रममा डाक्टर जोशीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।
सोलुखुम्बु जिल्लामा स्वास्थ्य सेवा प्रवाह गर्दाका आफ्ना वास्तविक अनुभव, चुनौती र सफलताका कथा प्रस्तुत गर्दै डाक्टर जोशीले दुर्गम क्षेत्रको स्वास्थ्य अवस्थाबारे अन्तर्राष्ट्रिय मञ्चमा ध्यानाकर्षण गराउनुभएको छ । एमडी (इन्टर्नल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन) विशेषज्ञ डाक्टर जोशीले विश्वको सर्वोच्च शिखर सगरमाथाको जिल्लाका रूपमा चिनिने करिब १ लाख जनसङ्ख्या भएको सोलुखुम्बुमा भौगोलिक विकटताका कारण स्वास्थ्य सेवा दिनुपर्ने बाध्यता उजागर गर्नुभयो। अस्पताल नजिकै विमानस्थल भए तापनि प्रतिकूल मौसम र जलवायुका कारण सधैँ उडान सम्भव नहुँदा बिरामीको तत्काल उद्धार तथा उपचारमा निकै ठूलो कठिनाइ हुने गरेको उहाँले उल्लेख गर्नुभयो।
नेपालका अधिकांश ग्रामीण भेगमा विशेषज्ञ चिकित्सकको अभाव कायमै रहेको अवस्थामा जनरल प्राक्टिसनर (सामान्य चिकित्सक) हरूले नै सबै प्रकारका जटिल केसहरू सम्हाल्नुपर्ने वास्तविकता रहेको छ। सन् १९७५ मा हिमालयन ट्रस्टमार्फत स्थापना भई सन् १९८५ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको फाप्लु अस्पतालमा एक्लो कन्सलटेन्ट डाक्टरका रूपमा कार्यरत रहँदा उहाँले आकस्मिक, शल्यक्रिया तथा विभिन्न मेडिकल केसहरू आफ्नै टोली परिचालन गरी सफलतापूर्वक सम्हाल्दै आउनुभएको परेको बताउनुभएको छ । प्राथमिक वा द्वितीय स्तरको भए पनि साधन–स्रोतको कमीका बिच फाप्लु अस्पतालले धेरै पटक तेस्रो तह (टर्सरी केयर) को अस्पतालसरह सेवा दिनुपरेको अनुभव उहाँले सुनाउनुभयो।
अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा डाक्टर जोशीले सीमित स्रोत–साधनका बिच बचाउन सफल केही जटिल बिरामीका उदाहरण प्रस्तुत गर्नुभएको थियो। अर्गानोफस्फोरस विषपानका कारण गम्भीर अवस्थामा अस्पताल पु¥याइएकी २५ वर्षीया महिलालाई भेन्टिलेटरमा राखेर ७०० मिलिलिटरसम्म एट्रोपिन दिई ५ दिनपछि सकुशल घर फर्काउन उहाँको टोली सफल भएको थियो।
त्यस्तै, आधुनिक उपकरणको अभावमा ५० मिलिलिटरको सिरिन्ज र राइस ट्युब जोडेर नेगेटिभ सक्सन मेसिनको विकल्प तयार पारिएको र फोली क्याथेटरको सिर्जनात्मक प्रयोग गरी जटिल शल्यक्रिया सम्भव बनाइएको उदाहरणले दुर्गमका चिकित्सकको नवीन सोच र दक्षता उजागर गर्छ। यसैगरी, पूर्ण रूपमा पाठेघरको मुख खुलिसकेको र शल्यक्रियाका क्रममा जटिल ’एङ्गुलर प्रेग्नेन्सी’ भेटिएकी आमाको तत्काल पाठेघर हटाउने शल्यक्रिया (हिस्ट्रेक्टोमी) गरी तथा साल निकालेर रगत उपलब्ध गराई ज्यान बचाइएको थियो। जन्मँदै मुटुको धड्कन प्रतिमिनेट ४० भन्दा कम भएको र श्वासप्रश्वासमा गम्भीर समस्या देखिएको समयपूर्व जन्मिएको (प्रिटर्म) शिशुलाई निरन्तर ब्याग–मास्क भेन्टिलेसन र छाती थिचेर (चेस्ट कम्प्रेसन) नयाँ जीवन दिइएको थियो।
डाक्टर जोशीले सीमित स्रोतसाधन, विशेषज्ञ जनशक्तिको अभाव र कठिन भौगोलिक अवस्थाका बीच पनि ग्रामीण अस्पतालहरूले नवप्रवर्तन र समर्पणका साथ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको बताउनुभयो ।यी सफलताका कथाहरूले कठिन भूगोल र सीमित साधनका बिच पनि नेपाली चिकित्सकहरूले कसरी निरन्तर जीवन रक्षाको सङ्घर्ष गरिरहेका छन् भन्ने वास्तविक चित्र अन्तर्राष्ट्रिय जगत्मा प्रस्ट पारेको छ ।