बिहीबार, २१ श्रावण, २०८३ (1785867300)
बुधबार श्रावण २०, २०८३

  ब्रोड पिक शव सङ्कलनबारे अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्षसँग सांसद शेर्पाको छलफल

    सोलुखुम्बुः   ब्रोड पिकमा जारी शव सङ्कलन अभियानलाई थप सुरक्षित, प्रभावकारी र द्रुत बनाउने उद्देश्यका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं कीर्तिमानी पर्वतारोही मिङ्मा डेभिड शेर्पाले अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इराफन अहमद खानसँग रचनात्मक छलफल गरेको जानकारी दिनुभएको छ । अध्यक्ष खानले यो मिसनलाई सुरक्षित र सफल रूपमा सम्पन्न गर्न आफ्नो सम्पूर्ण क्षमता प्रयोग गरिरहेको बताउनुभएको छ । यता, कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ सहित अन्य आरोहीको शव सङ्कलनमा ढिलाइ भइरहेको छ। निम्सदाइसहित अन्य आरोहीको मृत्यु भएको पुष्टि भइसके पनि शव संकलन हुन सकेको छैन। 
   विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकको क्याम्प–३ भन्दा केही तल गएको भीषण हिमपहिरोमा परी निम्सदाइ र ६ नेपाली आरोहीसहित १० जनाले ज्यान गुमाएका थिए। आरोहीहरूको शवलाई आधार शिविरसम्म ल्याउन प्रतिकूल मौसम, कठिन भौगोलिक बनावट र पाकिस्तानको विशिष्ट उद्धार प्रक्रियाका कारण ढिला भएको हो।
   अत्यन्तै कठिन भौगोलिक बनावट, अप्रत्याशित मौसम र अन्य प्राविधिक चुनौतीहरूलाई ध्यानमा राख्दै समन्वयलाई अझ बलियो बनाउने विषयमा छलफल भएको सांसद शेर्पाको भनाई छ। यसका लागि सम्बन्धित सबै निकाय, उद्धार टोली, प्राविधिक स्रोत–साधन र उपलब्ध जनशक्तिबिच सुदृढ सहकार्यमार्फत अझ प्रभावकारी कदम चालिने भएको छ।
   उद्धार टोलीको सुरक्षालाई नै पहिलो प्राथमिकतामा राखिएको छ। यसका साथै बाँकी रहेका शवहरूलाई यथाशीघ्र सुरक्षित र सम्मानजनक रूपमा सङ्कलन गर्न आवश्यक सम्पूर्ण कदम चाल्न टोली प्रतिबद्ध रहेको शेर्पाले जिकिर गरेका छन्। शेर्पाले यो कठिन उद्धार मिसनमा निरन्तर सहयोग, सहकार्य र समन्वय गरिरहेका पाकिस्तान सरकार, ब्रिटिस दूतावास, अल्पाइन क्लब अफ पाकिस्तान, पाकिस्तानस्थित नेपाली दूतावास र सम्बद्ध सबैप्रति आभार व्यक्त गर्नुभएको छ ।