बिहीबार, २१ श्रावण, २०८३ (1785867300)
बुधबार श्रावण २०, २०८३

निम्सदाइ फाउन्डेसनद्वारा ‘राहत कोष’ को घोषणा

 सोलुखुम्बुः पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) को ब्रोड पिक हिम पहिरोमा परी दुःखद निधन भएपछि उनको फाउन्डेसनले राहत कोषको घोषणा गरेको छ । निम्सदाइ फाउन्डेसनले ब्रोड पिक  दुर्घटनामा ज्यान गुमाएका अन्य पर्वतीय गाइडहरूका पीडित परिवारको सहयोगार्थ विशेष राहत कोषको घोषणा गरेको  फाउन्डेसनले आफ्नो सामाजिक सञ्जालमा मार्फत  जानकारी दिएको हो ।

‘फाउन्डेसनले आफ्ना संस्थापक गुमाउनुपर्दाको अकल्पनीय शोकका बिच पनि ब्रोड पिक हिम पहिरोमा ज्यान गुमाएका अन्य गाइडका परिवारहरूलाई आर्थिक र मानसिक सहारा प्रदान गर्ने उद्देश्यका साथ ‘ब्रोड पिक गाइड्स फेमिली सपोर्ट फन्ड’ को स्थापना गरेको हो,’ फाउन्डेसनले इन्स्टाग्राममा पोस्ट राख्दै भनेको छ ।  


‘हिमाल आरोहणमा खटिने प्रत्येक गाइड र टोलीका सदस्यहरूको पछाडि उनीहरूमाथि नै आश्रित परिवारहरू रहेका हुन्छन्, जसले यतिबेला अकल्पनीय पीडा र हृदयविदारक परिस्थितिको सामना गरिरहेका छन्,’ फाउन्डेसनले भनेको छ ।   आफ्ना संस्थापक निम्स पुर्जा बाहेक यो राहत अभियान पूर्ण रूपमा हिम पहिरोमा ज्यान गुमाउने अन्य गाइडका परिवारहरूमा मात्र केन्द्रित रहने फाउन्डेसनले स्पष्ट पारेको  छ ।

ठुला पर्वतारोहण दुर्घटनाबाट प्रभावितहरूलाई सहयोग गर्ने आफ्नो परोपकारी मूल उद्देश्यअनुरूप नै फाउन्डेसनले यस कठिन घडीमा पीडित परिवारको साथमा उभिन विश्वभरका पर्वतारोहण प्रेमी तथा अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको छ ।


फाउन्डेसनले इन्स्ट्राग्राम मार्फत भनेको छ ‘निर्मल पुर्जा (निम्स दाइ) सधैँ विश्वास गर्थे कि पर्वतारोहणको वास्तविक सफलता केवल हिमालको चुचुरोमा पुग्नु मात्र होइन, बरु यात्राका क्रममा कति मानिसको जीवनलाई सकारात्मक रूपमा स्पर्श गर्न सकियो भन्नेमा निर्भर हुन्छ । फाउन्डेसनले उहाँको यही महान् सोच, मार्गदर्शन र आदर्शलाई जीवित राख्नका लागि केवल शब्दमा मात्र सीमित नरही दया, करुणा र व्यावहारिक सहयोगमार्फत उनको विरासतलाई सम्मान गर्न आग्रह गरेको छ। यस अभियानले पीडित परिवारको आर्थिक भारलाई केही हदसम्म कम गर्न र यो दुखद समयमा सिङ्गो हिमाल आरोही समुदाय उनीहरूको साथमा छ भन्ने भावनाको अनुभूति गराउन मद्दत पु¥याउने विश्वास लिइएको छ ।’