मंगलबार, १२ श्रावण, २०८३ (1785089700)
सोमबार श्रावण ११, २०८३

  सोलुखुम्बु जिल्ला अदालतले एक वर्षमा ग¥यो २०२ मुद्धाको फैसला

   सोलुखुम्बुः  सोलुखुम्बु जिल्ला अदालतले एक आर्थिक वर्षमा कुल मुद्दाको ६६.६६ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । अदालतले आर्थिक वर्ष २०८२÷८३ मा नयाँ र पुराना गरी कुल ३०३ वटा मुद्दामध्ये २०२ वटा मुद्दा अर्थात् ६६.६६ प्रतिशत फैसला (फछ्र्यौट) गरेको सोलुखुम्बु जिल्ला अदालतका नायब डिठ्ठा नविन प्रसाद गुप्ताले जानकारी दिनुभयो।
   हिमाली जिल्लाको कठिन भौगोलिक विकटताका बिच पनि अदालतले कुल मुद्दामध्ये दुई तिहाइभन्दा बढी फछ्र्यौट गरी आगामी आर्थिक वर्षका लागि १०१ वटा मुद्दा मात्र बाँकी राख्न सफल भएको छ । नायब डिठ्ठा गुप्ताका अनुसार अघिल्लो आर्थिक वर्षबाट ७० वटा मुद्दा जिम्मेवारी सरेर आएका थिए भने साउनदेखि असार मसान्तसम्मको एक वर्षको अवधिमा २३३ वटा नयाँ मुद्दा दर्ता भएका थिए।
   अदालतमा दर्ता भएका मुद्दाहरूलाई प्रकृतिका आधारमा हेर्दा फौजदारीको तुलनामा देवानीतर्फका मुद्दाको संख्या बढी रहेको छ। देवानी मुद्दातर्फ अघिल्लो वर्षबाट ३३ वटा मुद्दा जिम्मेवारी सरेर आएका थिए भने समीक्षा वर्षमा १४४ वटा नयाँ मुद्दा दर्ता भई कुल १७७ वटा मुद्दा पुगेका थिए। तीमध्ये अदालतले १२२ वटा देवानी मुद्दाको सफल फछ्र्यौट गरिसकेको छ भने अब ५५ वटा मुद्दा मात्रै किनारा लाग्न बाँकी रहेका छन्। सोलुखुम्बुमा देवानीतर्फ विशेष गरी सम्बन्ध विच्छेद, अंशबण्डा र जग्गा विवादका मुद्दाहरू बढी दर्ता हुने गरेका छन्।
  त्यसैगरी गम्भीर प्रकृतिका मानिने फौजदारी मुद्दातर्फ अघिल्लो वर्षको ३७ वटा जिम्मेवारी सरेर आएको र नयाँ ८९ वटा दर्ता भई कुल १२६ वटा मुद्दा अदालतको विचारधीन सूचीमा रहेका थिए। ती १२६ वटा फौजदारी मुद्दामध्ये अदालतले ८० वटा मुद्दाको फैसला गरिसकेको छ भने ४६ वटा मुद्दा मात्र प्रक्रियामा रही बाँकी रहेका छन्। 
  दुर्गम गाउँहरूबाट साक्षी बकपत्र, प्रमाण जुटाउन र सम्बन्धित पक्षहरूलाई अदालतसम्म उपस्थित गराउन निकै कठिन हुने भए तापनि अदालत प्रशासनले पुराना तथा नयाँ मुद्दाहरूलाई प्राथमिकतामा राखेर काम गर्दा मुद्दा फछ्र्यौटको दर उत्साहजनक देखिएको छ। यसले सोलुखुम्बुका स्थानीयवासीमा अदालतप्रतिको विश्वास बढाउनुका साथै न्याय सम्पादनको प्रक्रियालाई थप चुस्त बनाएको देखाउँछ।