मंगलबार, १२ श्रावण, २०८३ (1785089700)
सोमबार श्रावण ११, २०८३

विपद् व्यवस्थापनका लागि सोलुखुम्बुका तीनै सुरक्षा निकायलाई ९ लाख ५० हजार बराबरका सामाग्री हस्तान्तरण

    सोलुखुम्बु ः जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन जिल्लास्थित तीनवटै सुरक्षा निकायलाई खोज तथा उद्धार सामाग्री हस्तान्तरण गरेको छ । विपद्का बेला तत्काल उद्धार तथा राहत कार्यमा सहज रूपमा परिचालन हुन सकून् भन्ने उद्देश्यले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई करिब ९ लाख ५० हजार रुपैयाँ बराबरका २५ प्रकारका खोज तथा उद्धार सामाग्री प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार हस्तान्तरण गरिएका सामाग्रीले बाढी, पहिरो, आगलागीलगायत विभिन्न विपद्का घटनामा खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। 
नेपाली सेनाले पाएका सामाग्रीहरू
   नेपाली सेनाले विपद् उद्धारका लागि विभिन्न २५ थरी सामाग्रीहरूमध्ये बास्केट÷फोल्डिङ रेस्क्यु स्ट्रेचर १ सेट, स्ट्याटिक रेस्क्यु रोप ३०० मिटर, रेस्क्यु हार्नेस ३ सेट, रेस्क्यु हेलमेट ३ सेट, पुलीज एण्ड रोप रेस्क्यु किट १ सेट, हेड ल्याम्प ३ सेट र थरमल ब्ल्यान्केट ३ सेट प्राप्त गरेको छ। त्यसैगरी सेनालाई एसेन्डर १ सेट, जु मार  १ सेट, चेस्ट हार्नेस १ सेट, वाटर रेस्क्यु हेलमेट २ थान, वाटरप्रुफ बुट ३ सेट, रेस्क्यु ग्लोभ्स ३ सेट र रिफ्लेक्टिभ सेफ्टी भेस्ट ३ सेट उपलब्ध गराइएको छ। यसका साथै २२ इन्चको चेन सो १ सेट, डिसेन्डर १ सेट, कोदालो २ थान, बञ्चरो २ थान, साबेल २ थान, ग्याँल २ थान, फायर ब्ल्यान्केट १ थान र क्लाइम्बिङ ग्लोभ्स १ सेट गरी नेपाली सेनाले सामाग्री प्राप्त गरेको छ ।
नेपाल प्रहरीले पाएका सामाग्रीहरू
   नेपाल प्रहरीतर्फ पनि उद्धार कार्यलाई प्रभावकारी बनाउन बास्केट÷फोल्डिङ रेस्क्यु स्ट्रेचर १ सेट, स्ट्याटिक रेस्क्यु रोप ३०० मिटर, रेस्क्यु हार्नेस ३ सेट, रेस्क्यु हेलमेट ३ सेट, पुलीज एण्ड रोप रेस्क्यु किट १ सेट, हेड ल्याम्प ३ सेट र थरमल ब्ल्यान्केट ३ सेट हस्तान्तरण गरिएको छ। प्रहरीले थप सामाग्रीका रूपमा थ्रो ब्याग २ सेट, जु मार १ सेट, चेस्ट हार्नेस १ सेट, वाटर रेस्क्यु हेलमेट २ थान, वाटरप्रुफ बुट ३ सेट, रेस्क्यु ग्लोभ्स ३ सेट र रिफ्लेक्टिभ सेफ्टी भेस्ट ४ सेट पाएको छ। साथै भौतिक   उद्धार कार्यका लागि कोदालो २ थान, बञ्चरो २ थान, साबेल २ थान, ग्याँल २ थान र फायर ब्ल्यान्केट १ थान गरी विभिन्न सामाग्री नेपाल प्रहरीलाई बुझाइएको छ।
सशस्त्र प्रहरी बलले पाएका सामाग्रीहरू
   त्यसैगरी विपद् व्यवस्थापनमा अग्रपंक्तिमा खटिने सशस्त्र प्रहरी बललाई बास्केट÷फोल्डिङ रेस्क्यु स्ट्रेचर १ सेट, स्ट्याटिक रेस्क्यु रोप ३०० मिटर, रेस्क्यु हार्नेस ४ सेट, रेस्क्यु हेलमेट ४ सेट, पुलीज एण्ड रोप रेस्क्यु किट १ सेट, हेड ल्याम्प ३ सेट, थरमल ब्ल्यान्केट ४ सेट, एसेन्डर १ सेट र जु मार १ सेट प्रदान गरिएको छ। यसका साथै सशस्त्र प्रहरीले विशेष रूपमा फुल–बडी रेस्क्यु हार्नेस १ सेट, चेस्ट हार्नेस १ कभत, वाटर रेस्क्यु हेलमेट २ थान, वाटरप्रुफ बुट ३ सेट, रेस्क्यु ग्लोभ्स ४ सेट, रिफ्लेक्टिभ सेफ्टी भेस्ट ३ सेट, डिसेन्डर १ सेट, कोदालो २ थान, बञ्चरो २ थान, साबेल २ थान, ग्याँल २ थान, फायर ब्ल्यान्केट १ थान, क्लाइम्बिङ ग्लोभ्स १ सेट र भिक्टिम रेस्क्यु ट्रायङ्गल १ सेट प्राप्त गरेको छ। जिल्लामा हुन सक्ने सम्भावित प्राकृतिक विपद्, बाढी, पहिरो तथा दुर्घटनाका बेला उद्धार टोलीलाई तत्काल आवश्यक पर्ने औजार तथा सुरक्षा सामाग्रीहरू प्राप्त भएसँगै तीनवटै सुरक्षा निकायको उद्धार क्षमता अझ सुदृढ र प्रभावकारी हुने विश्वास लिइएको छ ।
   यसैबीच, कार्यक्रममा बोल्दै सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले जिल्लामा हुन सक्ने सम्भावित बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपको जोखिमलाई ध्यानमा राख्दै सबै सुरक्षा निकायहरूलाई चौबीसै घण्टा उच्च सतर्कता र तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ। 
   विपद्को समयमा सर्वसाधारण नागरिकको जिउधनको रक्षा गर्नु प्राथमिक कर्तव्य भएको उल्लेख गर्दै उहाँले उद्धार कार्यमा कुनै पनि किसिमको कसर बाँकी नराख्न र सुरक्षा व्यवस्थालाई चुस्त बनाउन आग्रह गर्नुभयो। साथै हस्तान्तरण गरिएका उद्धार सामग्रीहरूको सहि र प्रभावकारी प्रयोग गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा तीनवटै सुरक्षा निकायहरूबीच बलियो समन्वय र सहकार्य हुनुपर्नेमा उहाँले विशेष जोड दिनुभएको छ।सामाग्री प्राप्त गर्दै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख, प्रहरी नायब उपरीक्षक नवीन राजा बुढाथोकीले विपदको समयमा प्रहरीले काम गर्ने क्रममा प्राप्त सामाग्रीहरूले सहजता दिने उल्लेख गर्नुभयो । प्रजिअ मगरले नेपाली सेनाका जिल्ल स्थित उच्च अधिकारीहरूको रोहबरमा सामाग्री हस्तान्तरण गर्नुभएको छ ।