बिहीबार, २१ श्रावण, २०८३ (1785780900)
मंगलबार श्रावण १९, २०८३

सांसद प्रकाश सिंह कार्कीद्वारा सोलुखुम्बुका हवाई समस्याबारे सरकारको ध्यानाकर्षणः नियमित उडान र नयाँ विमानस्थल निर्माणको माग

    सोलुखुम्बुः प्रतिनिधिसभाको शून्य समयमा सोलुखुम्बुका सांसद माननीय प्रकाश सिंह कार्कीले जिल्लाको पर्यटन प्रवद्र्धन तथा हवाई यातायातको समस्याबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । देशको राजस्वमा पर्यटनमार्फत ठूलो योगदान पुर्याउने सोलुखुम्बु अझै पनि आधारभूत पूर्वाधारको अभावमा रहेको उहाँले बताउनुभयो।
   लुक्ला विमानस्थलमा निजी कम्पनीको मात्रै उडान हुने, भाडामा एकरूपता नभएको र उडान अनियमित हुँदा पर्यटक र स्थानीयले सास्ती सास्ती भोग्नुपरेको उहाँले जानकारी दिनुभयो। त्यस्तै फाप्लु विमानस्थलमा नियमित उडान नहुँदा स्थानीय नागरिक आकस्मिक उपचारका लागि महँगो हेलिकप्टर प्रयोग गर्न बाध्य भएकाले निजी कम्पनीहरूलाई उत्तरदायी बनाएर नियमित उडानको व्यवस्था मिलाउन उहाँले माग गर्नुभयो।
   यसैगरी महाकुलुङ विमानस्थलको जग्गा प्राप्ति र निर्माण कार्य छिटो सक्न तथा निर्माण सम्पन्न भएर पनि सञ्चालनमा नआएको कांगेल विमानस्थल सञ्चालनमा ल्याउन उहाँले आग्रह गर्नुभयो। टुइनअटर विमान बन्द हुने अवस्थामा पुगेकाले मध्यम खालका विमान उडान–अवतरण गर्न सक्ने विमानस्थलको सम्भाव्यता अध्ययन गरी निर्माण गर्न पनि उहाँले सरकारसँग जोड दिनुभयो।