शनिबार, ९ श्रावण, २०८३ (1784657700)
बुधबार श्रावण ६, २०८३

  सगरमाथा राष्ट्रिय निकुञ्जमा १५ करोडभन्दा बढी राजस्व सकंलन

      सोलुखुम्बुः  सगरमाथा राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्ष २०८२÷८३ मा पर्यटक प्रवेश शुल्क र अन्य दस्तुरमार्फत कुल १५ करोड १ लाख २३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । विश्वकै सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा यस अवधिमा ५५ हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकहरूले भ्रमण गरेसँगै निकुञ्जको राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि भएको हो।
   हिमाली पदयात्रा र साहसिक पर्यटनका लागि विश्वभर प्रसिद्ध यस निकुञ्जमा गत आर्थिक वर्षमा  कुल ५५ हजार ५६ जना पर्यटक भित्रिएका छन्। निकुञ्ज कार्यालयका अनुसार भ्रमण गर्नेहरूमा सबैभन्दा बढी अन्य विदेशी मुलुकका पर्यटक रहेका छन्, जसको सङ्ख्या ४२ हजार ९८९ रहेको छ। यसैगरी सार्क राष्ट्रका ४ हजार ८३७ जना र नेपाली पर्यटक ७ हजार २३० जनाले सगरमाथा क्षेत्रको अवलोकन गरेका छन्।

    आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थितिले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै सोलुखुम्बु क्षेत्रको पर्यटन व्यवसायमा ठूलो राहत पु¥याएको छ ।  फागुन १५ गतेदेखि जेठ १५ सम्म र असोज, कात्तिक, मङ्सिर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ । सिजनमा दैनिक नौ सय जनासम्म पर्यटक प्रवेश हुने गरेकामा अहिले मुस्किलले पाँच÷सात जना हुने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत रहेका छन् ।