शनिबार, ९ श्रावण, २०८३ (1784830500)
शुक्रबार श्रावण ८, २०८३

सोलुखुम्बुबाट दुई वर्षमा १ हजार ५ सय ४३ क्विन्टलभन्दा बढी जडीबुटी निकासी 

  सोलुखुम्बुः  सोलुखुम्बुबाट पछिल्ला दुई आर्थिक वर्षमा १ हजार ५ सय ४३ दशमलव ७३ क्विन्टल जडीबुटी निकासी भएको छ । डिभिजन वन कार्यालय सोलुखुम्बुका अनुसार गत आर्थिक वर्ष २०८१÷८२ र २०८२÷८३ मा जिल्लाका सामुदायिक, निजी तथा राष्ट्रिय वन क्षेत्रबाट उक्त परिमाणमा जडीबुटी निकासी भएको हो। कार्यालयको तथ्याङ्कअनुसार दुई आर्थिक वर्षमा जडीबुटी निकासीबाट कुल १ लाख ५५ हजार ८२० रुपैयाँ मूल्य अभिवृद्धि कर (मु.अ.कर) संकलन भएको छ ।
   आर्थिक वर्ष २०८१÷८२ मा ८२ हजार ७७३ किलोग्राम जडीबुटी निकासी भएको थियो। सो निकासीबाट ७५ हजार १०० रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । उक्त वर्ष सबैभन्दा बढी २६ हजार किलोग्राम पात निकासी भएको थियो भने २३ हजार ५०० किलोग्राम डाँठ, १६ हजार २०० किलोग्राम बोक्रा, १२ हजार ३७३ किलोग्राम विभिन्न बिरुवा, ४ हजार किलोग्राम चोइटा र ७०० किलोग्राम जरा निकासी भएको विवरणमा उल्लेख छ।
   आर्थिक वर्ष २०८२÷८३ मा भने जडीबुटी निकासीको परिमाण केही घटेर ७१ हजार ६०० किलोग्राम पुगेको छ। तर राजस्व भने बढेर ८० हजार ७२० रुपैयाँ पुगेको डिभिजन वन कार्यालयले जनाएको छ। सो आर्थिक वर्षमा सबैभन्दा बढी ३१ हजार किलोग्राम चुत्रोको जरा निकासी भएको थियो। त्यसैगरी १६ हजार २०० किलोग्राम धुपी चोइटा, ९ हजार ३०० किलोग्राम धुपी पात, ६ हजार ५०० किलोग्राम सुनपाती, ६ हजार १०० किलोग्राम चिराइतो, २ हजार किलोग्राम अर्गेली र ५०० किलोग्राम विषजरा निकासी भएको तथ्याङ्कमा उल्लेख छ।
   जिल्लामा सामुदायिक वन ३२ हजार ७ सय ३ दशमलव ९६ हेक्टर, निजी १८५ दशमलव ५ हेक्टर र राष्ट्रिय वन ६ हजार ८ सय ८५ दशमलव ३ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।  सोलुखुम्बुका विभिन्न क्षेत्रमा संकलन गरिएका यी बहुमूल्य जडीबुटी मुख्य रूपमा औषधीय प्रयोजनका लागि झापा, काँकडभिट्टा र काठमाडौँ हुँदै भारततर्फ निर्यात हुने गरेको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।