जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित
सोलुखुम्बु— जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित हुनुभएको छ । विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनको पूर्ण पालना गर्दै व्यावसायिक, लगनशील, कर्तव्यनिष्ठ र परिणाममुखी ढंगले उत्कृष्ट कार्यसम्पादन गरेको मूल्याङ्कनका आधारमा प्रहरी निरीक्षक तामाङ असार महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित बन्नुभएको हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका कार्यालयका अनुसार गम्भीर प्रकृतिका दुई फरक कर्तव्य ज्यान (हत्या) सम्बन्धी घटनाको सफल अनुसन्धान गर्दै अभियुक्तलाई कानुनी दायरामा ल्याउन उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो। पहिलो घटनामा सोलुदुधकुण्ड नगरपालिका–११ बुस्तिम निवासी ७१ वर्षीय रिंजी शेर्पाको करेन्ट लागेर मृत्यु भएको भन्दै प्रहरीमा जाहेरी परेको थियो। प्रारम्भिक रूपमा भवितव्यबाट मृत्यु भएको देखिए पनि प्रहरी निरीक्षक तामाङको नेतृत्वमा घटनास्थलको सूक्ष्म निरीक्षण, प्रमाण संकलन तथा शव परीक्षण गर्दा मृतकको टाउकोमा धारिलो हतियार प्रहार गरिएको तथ्य खुलेको थियो। त्यसपछि अनुसन्धानलाई तीव्र बनाउँदै प्रहरीले घटनामा संलग्न ४२ वर्षीय आङदावा शेर्पालाई नियन्त्रणमा लिई सफलतापूर्वक अनुसन्धान सम्पन्न गरेको थियो।
यस्तै दोस्रो घटनामा थुलुङ दुधकोशी गाउँपालिका–१ मा कोठा भाडामा बस्दै आएकी ३७ वर्षीया कमला भन्ने लछीमाया विश्वकर्मा असार १६ गते बिहान छिमेकीको बारीमा कोदो रोप्न जाने भन्दै घरबाट निस्किएपछि सम्पर्कविहीन हुनुभएको थियो। बेपत्ता भएपछि प्रहरीले खोजतलाससँगै अनुसन्धान अघि बढाएको थियो। घटनाको अनुसन्धानका क्रममा संकलित प्रमाण, प्राप्त सूचनाका साथै प्राविधिक विश्लेषणका आधारमा प्रहरीले सोही गाउँपालिकाका ३५ वर्षीय विकास भन्ने योगेन्द्र कटवाललाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो।
अनुसन्धानका क्रममा अभियुक्तकै बयान र सूचनाका आधारमा असार २७ गते तुम्सेडाँडा कार्मडाँडास्थित ठूलो ढुङ्गाको ओडारको फेदीमा लछीमाया विश्वकर्माको शव फेला परेको थियो। घटनामा अभियुक्तले हत्या गरी शव लुकाएको तथ्य पुष्टि भएपछि उनलाई कानुनी प्रक्रियामा ल्याइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार दुवै जटिल हत्या घटनाको तथ्यपरक अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुका साथै अपराध नियन्त्रण र नागरिकमा शान्ति–सुरक्षाको अनुभूति दिलाउन उल्लेखनीय योगदान पु¥याएकाले प्रहरी निरीक्षक तामाङलाई असार महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गरिएको हो। कार्यालयले उत्कृष्ट अनुसन्धान, व्यावसायिक दक्षता, जिम्मेवारीप्रति उच्च प्रतिबद्धता तथा सेवामुखी कार्यशैलीका कारण प्रहरी निरीक्षक तामाङले नेपाल प्रहरीको व्यावसायिक छवि थप उँचो बनाउन महत्त्वपूर्ण योगदान पु¥याएको उल्लेख गरेको छ।
ताजा खबर
सबै- जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित
- सोलुखुम्बुबाट दुई वर्षमा १ हजार ५ सय ४३ क्विन्टलभन्दा बढी जडीबुटी निकासी
- हर्क साम्पाङसहितका नेतामाथि भएको दुव्र्यवहारप्रति श्रम संस्कृति पार्टी सोलुखुम्बुको ध्यानाकर्षण
- शान्ति सुरक्षा, भष्टाचार नियन्त्रण र समन्वयमा प्रतिवद्ध छु : प्रजिअ मगर
- लोकतन्त्र जोगाउन कांग्रेसभित्र एकता आवश्यक: आङगेलु शेर्पा
2026-07-24-08-28-44.jpeg)





