साउन लागेसँगै सोलुखुम्बुका हजाम व्यवसायी मारमाः कपाल काट्नेको सङ्ख्या ह्वात्तै घट्यो
सोलुखुम्बु — साउन महिना सुरु भएसँगै सोलुखुम्बुका कपाल काट्ने व्यवसायीहरूको व्यापारमा मन्दी आएको छ । साउन महिनामा धार्मिक मान्यताका कारण मानिसहरूले कपाल नकाट्ने परम्परा रहेकाले कपाल काट्ने ठाउँहरुमा ग्राहकको चाप उल्लेख्य रूपमा घटेको हो।
विशेष गरी साउन महिनालाई पवित्र मानिने र धार्मिक दृष्टिकोणले कपाल वा दारी काट्न नहुने जनविश्वासका कारण ग्राहकहरू कपाल काट्ने ठाउँहरुसम्म आउन छाडेका छन्।
सदरमुकाम तथा आसपासका कपाल काट्ने ठाउँहरुमा अन्य महिनाको तुलनामा साउनमा आम्दानी निकै घटेको व्यवसायीहरू बताउँछन्। सलुन व्यवसायी यामशङ्कर घर्तीका अनुसार अरू महिनामा दैनिक २ हजार रुपैयाँसम्म कमाइ हुने गरेकामा अहिले ५ सय देखि १ हजार रुपैयाँ पनि मुस्किलले हुने गरेको छ।
“व्यापारको कुनै ग्यारेन्टी हुँदैन, तर साउन लागेपछि ग्राहकको उपस्थिति निकै पातलिएको छ। दिनभर ग्राहक नहुँदा मोबाइल हेरेर, टिकटक र युट्युब चलाएर समय बिताउनुपर्ने बाध्यता छ,“ घर्तीले भन्नुभयो।
अहिले व्यापार मन्द भए पनि विगतका महिनाहरूमा गरिएको बचतका कारण दैनिक घरखर्च चलाउन भने ठूलो सङ्कट परिहालेको छैन। यस्तै अर्का कपाल काट्ने व्यवसायी राकेश कुमार अजमका अनुसार साउनमा कपाल नकाट्नुको वास्तविक धार्मिक वा तान्त्रिक कारण थाहा नभए पनि परापूर्वकालदेखि चल्दै आएको बुढापाकाको मान्यतालाई स्थानीयले निरन्तरता दिँदै आएका छन् ।
सिराहा जिल्ला स्थायी घर भएका व्यवसायीहरू तराईको अत्यधिक गर्मी र रोगव्याधिको जोखिमका कारण हिमाली जिल्ला सोलुखुम्बुलाई रोजेर व्यवसाय गर्दै आएको बताउँछन्। तराईमा गर्मीका कारण बिरामी भइने भए पनि सोलुखुम्बुको चिसो र अनुकूल मौसमका कारण यहाँ व्यवसाय गर्न सहज भएको उनीहरूको भनाइ छ।
हाल सोलुखुम्बुका अधिकांश सलुनहरूमा कपाल काटेको रु. १५० र दारी काटेको रु. १०० दर कायम गरिएको छ । सबैतिर एउटै दररेट भएकाले प्रतिस्पर्धा र मूल्यमा एकरूपता रहेको छ । साउन महिनामा भगवानको पूजाआजा र व्रत बस्ने परम्परा रहेकाले मानिसहरूले कपाल नकाट्ने गर्छन्। साउन महिनाभर ग्राहकको उपस्थिति कमै रहने भए पनि महिना सकिएपछि पुनः व्यापार पूर्ववत् अवस्थामा फर्कनेमा व्यवसायीहरू आशावादी छन्। अहिले पसलमा आउने सीमित ग्राहकहरूलाई स्वागत गर्दै उनीहरूले धैर्यताका साथ सेवा दिइरहेको बताएका छन् ।
ताजा खबर
सबै- जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित
- सोलुखुम्बुबाट दुई वर्षमा १ हजार ५ सय ४३ क्विन्टलभन्दा बढी जडीबुटी निकासी
- हर्क साम्पाङसहितका नेतामाथि भएको दुव्र्यवहारप्रति श्रम संस्कृति पार्टी सोलुखुम्बुको ध्यानाकर्षण
- शान्ति सुरक्षा, भष्टाचार नियन्त्रण र समन्वयमा प्रतिवद्ध छु : प्रजिअ मगर
- लोकतन्त्र जोगाउन कांग्रेसभित्र एकता आवश्यक: आङगेलु शेर्पा


2026-07-23-11-54-04.jpeg)



