शनिबार, ९ श्रावण, २०८३ (1781892900)
शनिबार असार ६, २०८३

 सगरमाथा राष्ट्रिय निकुञ्जले ११ महिनामा ५७ हजार बढी पर्यटकहरूबाट  १२ करोड बढी राजश्व सङ्कलन गर्यो

   सोलुखुम्बुः   सगरमाथा राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्ष २०८२÷०८३ को साउनदेखि जेठ मसान्तसम्म १२ करोड ५८ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । निकुञ्जका सूचना अधिकारी विवेक वाइजुका अनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम हो। अघिल्लो वर्ष यही अवधिमा १५ करोड १३ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो।
   यस अवधिमा सगरमाथा क्षेत्र भ्रमण गर्ने आगन्तुकको संख्या ५७ हजार ४ सय २२ जना रहेका छन् । निकुञ्ज कार्यालय नाम्चेको तथ्याङ्कअनुसार तीमध्ये १६ हजार ८२ नेपाली, ४ हजार ४ सय ७६ सार्क राष्ट्रका नागरिक तथा ३६ हजार ८ सय ६४ अन्य विदेशी पर्यटक रहेका छन्।
  गत आर्थिक वर्षको जेठ मसान्तसम्म भने कुल ५८ हजार ४ सय ७४ जनाले सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए। त्यसमध्ये ७ हजार ९ सय ३३ नेपाली, ६ हजार २ सय ३७ सार्क मुलुकका नागरिक र ४४ हजार ३ सय ३४ अन्य विदेशी पर्यटक थिए। 
   तथ्याङ्कले अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्यटकहरुको संख्या केही घटेको देखाएको छ। पर्यटक आगमनमा आएको कमीको प्रभाव निकुञ्जको आम्दानीमा समेत परेको सूचना अधिकारी वाइजुले बताउनुभयो। 
    उहाँका अनुसार सगरमाथा क्षेत्र पुग्न पर्यटकहरूले काठमाडौँ तथा रामेछापको मन्थलीबाट हवाई मार्ग प्रयोग गरी लुक्ला पुग्ने वा काठमाडौँबाट सडकमार्ग हुँदै सल्लेरीसम्म यात्रा गरी त्यहाँबाट पैदल मार्ग रोज्ने गरेका छन्। फागुन १५ गतेदेखि जेठ १५ गतेसम्म तथा असोज, कात्तिक र मंसिर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ। यस अवधिमा दैनिक एक हजारभन्दा बढी पर्यटक निकुञ्ज प्रवेश गर्ने गरेका छन् भने अन्य समयलाई अफसिजनका रूपमा लिइन्छ।
    निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा राना का अनुसार हिमाल आरोहण, वन्यजन्तु अवलोकन तथा साहसिक पर्यटनका कारण सगरमाथा क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख आकर्षण बनेको छ। पूर्वी नेपालको सोलुखुम्बु जिल्ला मा अवस्थित सगरमाथा राष्ट्रिय निकुञ्ज वि.सं. २०३२ सालमा स्थापना गरिएको हो।
    १ हजार १ सय ४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्ज समुद्री सतहबाट १ हजार ८ सय मिटरदेखि ८ हजार ८ सय ४८ दशमलव ८६ मिटरसम्म फैलिएको छ। यहाँ विश्वको सर्वोच्च शिखर सगरमाथा सहित ल्होत्से, नुप्से, चोयू, पुमोरी, आमादब्लम र थामसेर्कुजस्ता प्रसिद्ध हिमाल रहेका छन्। प्राकृतिक तथा जैविक विविधताले सम्पन्न यस निकुञ्जभित्र रहेको गोक्यो तथा आसपासका ताल क्षेत्र सन् २००७ मा    रामसार सूचीमा सूचीकृत भएका थिए। साथै यसको अद्वितीय प्राकृतिक सम्पदा र पर्यावरणीय महत्त्वका कारण सन् १९७९ देखिको विश्व सम्पदा सूचीमा समेत समावेश गरिएको छ। निकुञ्ज क्षेत्रमा कस्तुरी मृग, थार, घोरल, लंगुर बाँदरलगायतका वन्यजन्तु पाइन्छन् भने मोनाल, टिबेटन स्नो कक, हर्न लार्क तथा अन्य दुर्लभ पक्षी प्रजातिहरूले यहाँको जैविक विविधतालाई अझ समृद्ध बनाएका छन्।