शनिबार, ९ श्रावण, २०८३ (1784312100)
शनिबार श्रावण २, २०८३

   गार्मा वडामा ४२ विकास योजना सार्वजनिक, पुल निर्माणमा सबैभन्दा बढी बजेट

    सोलुखुम्बुः  सोलुदुधकुण्ड नगरपालिका वडा नं. ७ गार्माले आगामी आर्थिक वर्ष २०८३÷०८४ मा कार्यान्वयन गरिने नगर तथा वडा स्तरीय विकास योजनाको विवरण सार्वजनिक गरेको छ। वडा कार्यालयले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी तथा पर्यटन प्रवद्र्धनलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर कुल ४२ वटा योजनाहरु छनोट गरि सार्वजनिक गरेको जनाएको हो।
    सार्वजनिक विवरण अनुसार यस वर्षको सबैभन्दा ठूलो योजना भित्ताखर्क सोलुखोला सडक पुल निर्माण रहेको छ, जुन नगरपालिका र प्रदेश सरकारको ७०÷७० लाख रुपैयाँको साझेदारीमा कुल १ करोड ४० लाख रुपैयाँको लागतमा सम्पन्न गरिनेछ । यसैगरी, वडा नं. ७ को वडा कार्यालय साझेदारी र गार्मा माध्यमिक विद्यालयको भवन साझेदारीका लागि ५०÷५० लाख रुपैयाँ विनियोजन गरिएको छ । स्थानीय युवाहरूलाई सीपमूलक बनाउन नुर्बुर भोकेशनल तालिम केन्द्र सञ्चालन साझेदारीका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । 
   पूर्वाधार विकासतर्फ सडक स्तरोन्नतिका कामहरूलाई विशेष प्राथमिकता दिइएको छ। घट्टेखोला सडक र बाराने सडक स्तरोन्नतिका लागि १२÷१२ लाख रुपैयाँ विनियोजन गरिएको छ भने वडा कार्यालय हुँदै डुलुम्से लुम्जे खोला सडक, च्यालसा सल्लेरी सडक, तल्लो जोगारा सडक, माथिल्लो सेकारसिङ–नाजिङ–लाप्चे सडक, खोलाखर्क सडक र जोर बौद्ध सोलुखोला सडक ट्र्याक ओपनका लागि जनही ५ देखि १० लाख रुपैयाँसम्मको बजेट तय गरिएको छ।
    शिक्षा र सामुदायिक भवन निर्माणतर्फ गार्मा मावि चेकवाल तथा खेलमैदानका लागि ९ लाख, नेवार सेवा समाज भित्ताखर्क भवन निर्माणका लागि १० लाख, सामुदायिक विकास संस्था भवन निर्माणका लागि ७ लाख र सेकार सिड कृषि भवन तथा शौचालय मर्मतका लागि ७ लाख रुपैयाँ खर्च गरिनेछ । सामाजिक तथा धार्मिक क्षेत्रतर्फ मेन्दुपाके नाम्टोल छोलिङ गुम्बा ग्याविन वाल तथा खानेपानीका लागि ५ लाख, माथिल्लो भित्ताखर्क दाहँ संस्कार निर्माण र किक्लु आर्याघाट निर्माणका लागि ३÷३ लाख, तथा बस्नेत टोलमा शिव मन्दिर टहरा र तल्लो गार्मामा जलेश्वरी कैलाश्वरी मन्दिर टहरा निर्माणका लागि ३÷३ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।
    स्थानीय बासिन्दाको आधारभूत आवश्यकता पूरा गर्न खानेपानी र गोरेटो बाटो मर्मतका योजनाहरू पनि समेटिएका छन्। लाप्चे घुन्सा खानेपानी व्यवस्थापनका लागि ४ लाख, थल्लेरी र मेन्दुपाके खानेपानी ईन्टेक निर्माण तथा मर्मतका लागि १ लाख ५० हजारका दरले बजेट छुट्याइएको छ। विभिन्न क्षेत्रका गोरेटो बाटो मर्मतका लागि २ देखि ४ लाख रुपैयाँसम्म विनियोजन गरिएको छ, जसमा तल्लो साल्मे, माथिल्लो गार्मा–साल्मे, गार्मा स्वास्थ्य चौकी–गार्मा मावि, नाजिङ देखि माथिल्लो सेकारसिङ, तल्लो गार्मा–खोलाखर्क झोलुङ्गे पुल, र तोजिड हुदै भस्मे जाने गोरेटो बाटाहरू रहेका छन्।
   यसका साथै, सामाजिक विकास र सुरक्षालाई ध्यानमा राख्दै ज्येष्ठ नागरिक सम्मान कार्यक्रमका लागि ४ लाख ५० हजार, अन्तर विद्यालय स्तरिय अतिरिक्त क्रियाकलाप सञ्चालन र सिर्जनशिल दलित सेवा समाज फर्निचर निर्माणका लागि ४÷४ लाख रुपैयाँ छुट्याइएको छ। वडाभरि बालमैत्री सचेतनामूलक कार्यक्रमका लागि १ लाख ५० हजार, नेमारमा माने मर्मतका लागि १ लाख, सहरी स्वास्थ्य केन्द्र कार्यालय फर्निचर व्यवस्थापनका लागि १ लाख र विपत तथा भैपरि आउने योजनाका लागि १ लाख रुपैयाँ सुरक्षित राखिएको छ। यी योजनाहरूको सफल कार्यान्वयनले गार्मा क्षेत्रको समग्र आर्थिक, सामाजिक र भौतिक विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास वडा कार्यालयले लिएको छ।