सोलुखुम्बुमा भएका दुई छुट्टाछुट्टै हत्या काण्डः एक अभियुक्त कारागार चलान, अर्का प्रहरी हिरासतमा
एआइ तस्विर
सोलुखुम्बु ः सोलुखुम्बु जिल्लामा विगत महिना घटेका दुई छुट्टाछुट्टै कर्तव्य ज्यान मुद्दामा अदालत र प्रहरीले कानुनी कारबाही अघि बढाएका छन्। पछिल्लो दुइ घटनाको फलोअप अन्तर्गत, ७९ वर्षीया वृद्धाको शङ्कास्पद मृत्यु प्रकरणमा संलग्न रहेको आशङ्कामा पक्राउ परेका प्रतिवादीलाई अदालतको आदेश बमोजिम पुर्पक्षका लागि कारागार पठाइएको छ । सोलुखुम्बु जिल्ला अदालतको असार २९ गतेको आदेशले ती प्रतिवादीलाई कारागार कार्यालय सोलुखुम्बु पठाइएको हो।
उक्त घटना विवरण अनुसार, गत असार १२ गते बेलुका ९ ः१५ बजेको समयमा सोलुदुधकुण्ड नगरपालिका वडा नं. ११ बुस्तिद स्थित आफ्नै घरमा एक्लै बस्दै आएकी ७९ वर्षीया रिंजी शेर्पाको मृत्यु भएको थियो। सुरुमा इलेक्ट्रिक सर्ट भई आगलागीबाट मृत्यु भएको भनिए तापनि प्रहरीको सूक्ष्म अनुसन्धानबाट घटनाको प्रकृति शङ्कास्पद देखिएको थियो। मृतकको टाउको र हातमा धारिलो हतियारको गम्भीर चोट भेटिएपछि प्रहरीले घटनास्थलबाट वारदातमा प्रयोग भएको एक थान खुकुरी बरामद गरेको थियो। घटनामा संलग्न रहेको आशङ्कामा मृतककै साइलो छोरा ४२ वर्षीय आङदावा शेर्पालाई पक्राउ गरी कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरिएको थियो। प्रहरी अनुसन्धानपछि अदालतमा पेस गरिएका उनलाई हाल अदालतको आदेशानुसार थुनामा पठाइएको छ।
यसैगरी, सोलुखुम्बुकै अर्को घटनामा एक महिलाको हत्या आरोपमा पक्राउ परेका प्रतिवादीमाथि अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान जारी राखेको छ । माप्य दुधकोशी गाउँपालिका वडा नं. ५ काँकु सरिमा टोल स्थायी घर भई थुलुङदुधकोशीसोही गाउँपालिकाको वडा नं. १ नेले तुम्से स्थित शर्मिला राईको घरमा डेरा गरी बस्ने ३७ वर्षीया कमला भन्ने लछीमाया वि.क. गत असार १६ गते बिहानदेखि बेपत्ता भएकी थिइन्। छिमेकीको बारीमा कोदो रोप्न जान्छु भनी १० वर्षीय नाबालक छोरालाई जानकारी गराई हिँडेकी उनी साँझसम्म नफर्किएपछि घरबेटी शर्मिला राईले हुलिया सहित प्रहरीमा निवेदन दिएकी थिइन्।
खोजतलासकै क्रममा, सोलुखुम्बु थुलुङदुधकोशी गाउँपालिका वडा नं. १ नेले जोगरा बस्ने ३५ वर्षीय विकास भन्ने योगेन्द्र कटुवालले दिएको सूचनाको आधारमा गत असार २७ गते दिउँसो ४ ः३० बजेको समयमा तुम्से कार्मेडाँडा स्थित ठुलो ढुङ्गाको ओडारमा लछीमायाको शव सडेगलेको अवस्थामा फेला परेको थियो। तर, प्रहरी अनुसन्धानका क्रममा तिनै सूचना दिने व्यक्ति विकास भन्ने योगेन्द्र कटुवाल आफैँ उक्त हत्यामा संलग्न रहेको खुलेपछि उनलाई कर्तव्य ज्यान कसूरमा पक्राउ गरिएको छ। हाल प्रतिवादी कटुवालमाथि सम्मानित सोलुखुम्बु जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरीले हिरासतमा राखेर विस्तृत अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
ताजा खबर
सबै- जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङ ‘पुलिस अफ द मन्थ’ घोषित
- सोलुखुम्बुबाट दुई वर्षमा १ हजार ५ सय ४३ क्विन्टलभन्दा बढी जडीबुटी निकासी
- हर्क साम्पाङसहितका नेतामाथि भएको दुव्र्यवहारप्रति श्रम संस्कृति पार्टी सोलुखुम्बुको ध्यानाकर्षण
- शान्ति सुरक्षा, भष्टाचार नियन्त्रण र समन्वयमा प्रतिवद्ध छु : प्रजिअ मगर
- लोकतन्त्र जोगाउन कांग्रेसभित्र एकता आवश्यक: आङगेलु शेर्पा

2026-07-24-08-28-44.jpeg)




