शनिबार, ९ श्रावण, २०८३ (1784744100)
बिहीबार श्रावण ७, २०८३

लोकतन्त्र जोगाउन कांग्रेसभित्र एकता आवश्यक: आङगेलु शेर्पा

   सोलुखुम्बुः नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पाले जननेता बीपी कोइरालाले प्रतिपादन गर्नुभएको लोकतन्त्र, राष्ट्रियता र समाजवादका आदर्श आज पनि मुलुकलाई सही दिशामा अघि बढाउने प्रमुख मार्गदर्शक सिद्धान्त रहेको बताउनुभएको छ।
   नेपाली कांग्रेस ओखलढुंगा जिल्ला कार्यसमितिले आयोजना गरेको ४४औँ बीपी स्मृति दिवस, ‘जरा अभियान’ समापन तथा अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै नेता शेर्पाले सो कुरा बताउनुभएको हो। कार्यक्रममा बोल्दै उहाँले कांग्रेसले बीपीको विचारलाई केवल सिद्धान्तमा मात्र सीमित नराखी व्यवहारमा उतारेर जनतासँगको सम्बन्ध अझ सुदृढ बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो। उहाँले पार्टीको सांगठनिक सुदृढीकरण, लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा र जनविश्वासलाई अझ मजबुत बनाउनका लागि सबै नेता तथा कार्यकर्ता एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो।
   सम्बोधनका क्रममा नेता शेर्पाले नेपाली कांग्रेसभित्र एकताको महत्व दर्शाउँदै यदि कांग्रेस एक हुन सकेन भने मुलुकको लोकतन्त्र नै संकटमा पर्ने खतरा रहेको औँल्याउनुभयो। उहाँले विगतका सबै आन्तरिक तिक्तता र मतभेदलाई बिर्सेर पार्टीलाई सुदृढ र एकीकृत बनाउन सम्पूर्ण कार्यकर्ता पंक्तिलाई आह्वान गर्नुभयो।
   कार्यक्रमका अन्य वक्ताहरूले पनि लोकतान्त्रिक संस्कार, राष्ट्रिय एकता र सहकार्यको भावनालाई बलियो बनाउनुपर्नेमा जोड दिएका थिए। उहाँहरूले समृद्ध नेपाल निर्माणको साझा लक्ष्य हासिल गर्नका लागि देशका सबै राजनीतिक शक्तिहरूबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। नेपाली कांग्रेस ओखलढुंगाका जिल्ला सभापति तेजेन्द्र खनालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जिल्लाभरका कांग्रेस नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।