सोलुखुम्बुका यातायात व्यवसायीले उठाए सडकदेखि भाडासम्मका सवाल
सोलुखुम्बुः दशैँ, तिहार तथा छठ पर्वको समयमा सवारी साधन तथा यात्रुको चाप अत्यधिक बढ्ने र सडक दुर्घटनाको जोखिम उच्च रहने सम्भावनालाई मध्यनजर गर्दै सोलुखुम्बुमा आयोजना गरिएको सरोकारवाला निकायहरू बीचको छलफल तथा अन्तरक्रिया कार्यक्रममा स्थानीय यातायात व्यवसायीहरूले आफ्ना विविध गुनासो र सुझावहरू प्रस्तुत गरेका छन्।
कार्यक्रममा स्थानीय यातायात व्यवसायीहरूले सडक पूर्वाधार, चालकको आराम, प्रशासनिक समन्वय, भाडादर निर्धारण र व्यावहारिक कठिनाइहरूबारे आफ्ना विविध गुनासो तथा सुझावहरू प्रस्तुत गरेका हुन् ।
छलफलका क्रममा यातायात व्यवसायीहरूले काठमाडौँबाट सोलुखुम्बु आउने बसहरू सोही दिन वा भोलिपल्ट बिहानै फर्कनुपर्ने बाध्यता रहेको बताएका छन् । पहिले बाटो कमजोर हुँदा राति ८ देखि १० बजेसम्म आइपुग्ने गाडीहरू अहिले सडक सुधारिएका कारण साँझ ५ देखि ६ बजेभित्रै आइपुग्ने गरे पनि बिहान ३ बजे नै उठेर पुनः यात्रा सुरु गर्नुपर्दा चालकहरूलाई पर्याप्त आराम र निद्राको अभाव हुने गरेको उहाँहरूले दर्साउनुभयो।
पर्याप्त आराम नहुँदा तथा जाडो मौसममा पत्ताले क्षेत्र आसपास सडकमा आइस (बर्फ) जम्ने समस्याका कारण दुर्घटनाको जोखिम थप बढेको बताउँदै यसलाई न्यूनीकरण गर्न एउटा गाडी वा चालकलाई अनिवार्य रूपमा एक दिन आराम (रेस्ट) गराएर पालैपालो अर्को गाडी वा चालक पठाउने व्यवस्था मिलाउनुपर्नेमा यातायात व्यवसाहीहरुले जोड दिनुभयो।
यसैगरी, सडक सुरक्षा र यात्रा सहजताका लागि पत्ताले तथा सल्लेरी क्षेत्रका केही जोखिमयुक्त भित्री मोडहरूमा लुक–इन ग्लासको अत्यावश्यकता रहेको व्यवसायीहरूले औँल्याउनुभयो। मोडहरूमा अगाडिबाट आउँदै गरेको गाडी वा बाइक नदेखिने भएकाले पटक–पटक दुर्घटना हुने र ठोकिने समस्या रहेको भन्दै यस्ता प्रविधि जडान गरे दुर्घटना न्यूनीकरणमा ठूलो सहयोग पुग्ने उहाँहरूको भनाइ थियो।
यस्तै, प्रशासनिक निर्णयमा पारदर्शिता र समन्वयको अभाव रहेको भन्दै व्यवसायीहरूले असन्तुष्टि व्यक्त गर्नुभयो। जिल्ला प्रशासन, र जिल्ला प्रहरी कार्यालय हुने निर्णयहरूबारे व्यवसायीहरूलाई समयमै जानकारी नदिइँदा कार्यसम्पादनमा समस्या थपिएको भन्दै निर्णयहरू आधिकारिक रूपमा सार्वजनिक वा अनलाइन माध्यममा सहज रूपमा उपलब्ध गराउने पारदर्शी परिपाटी बसाल्नुपर्नेमा उहाँहरूले जोड दिनुभयो।
चाडबाड तथा मुख्य सिजनका बेला यात्रुहरूको चाप अत्यधिक हुने तर सवारी साधन अपर्याप्त हुने अवस्थामा ओखलढुङ्गालगायत बाहिरका रुटबाट थप गाडीहरू मगाउनुपर्ने बाध्यता रहने उहाँहरूले स्पष्ट पार्नुभयो। यात्रुहरूले आफैं बढी भाडा तिर्न तयार भई गाडी बोलाइदिन आग्रह गर्ने भएकाले बाहिरबाट गाडी ल्याउँदा इन्धन तथा अतिरिक्त खर्चका कारण भाडादर केही बढी हुन जाने उहाँहरूको तर्क थियो।
तर, यात्रुको समस्या समाधान गर्न अतिरिक्त खर्च व्यहोरेर ल्याइएका सवारीको भाडालाई ’बढी भाडा लिएको’ भन्दै चेकिङका क्रममा फिर्ता गराउने र त्यसको भिडियो बनाएर सार्वजनिक गर्ने गरिएको भन्दै व्यवसायीहरूले आपत्ति जनाउनुभयो। चाडबाडको समयमा एकतर्फी (वन–वे) यात्रुको चाप हुने र फर्कँदा गाडी खाली आउनुपर्ने व्यावहारिक समस्यालाई ध्यानमा राखेर भाडा समायोजन र नियमन गरिनुपर्ने उहाँहरूको माग थियो।
यात्रु सेवा र सवारी व्यवस्थापनतर्फ अनलाइन÷अग्रिम बुकिङ गरेर पछि बढी भाडा पाउने प्रलोभनमा अन्यत्रै गाडी पठाउने समस्या रोक्न टिकट र चलानीको अनिवार्य व्यवस्था गरिनुपर्ने र कुन समिति वा कम्पनीका कतिवटा गाडी कुदे भन्ने स्पष्ट रेकर्ड राखिनुपर्ने व्यवसायीहरूले बताउनुभयो।
चालक र यात्रु बीच नङ र मासुको जस्तो सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड दिँदै व्यवसायीहरूले हरेक औपचारिक कार्यक्रममा काउन्टरका प्रतिनिधि मात्र नभई सवारी चालक र सहचालकहरूलाई समेत प्रत्यक्ष सहभागी गराएर सचेतना र छलफल चलाउनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा उपस्थित प्रहरी तथा नियामक निकायका प्रतिनिधिहरूले व्यवसायीका व्यावहारिक कठिनाइ र यात्रुहरूले व्यहोर्नुपरेका समस्या दुवैलाई सन्तुलित ढङ्गले समाधान गर्न उपयुक्त उपाय र विकल्पहरू पहिल्याइने प्रतिबद्धता जनाउनुभयो।
ताजा खबर
सबै- सोलुखुम्बुका यातायात व्यवसायीले उठाए सडकदेखि भाडासम्मका सवाल
- फाप्लु अस्पतालमा ३१ जनाले लगाए रेबिजविरुद्धको खोप, ’इम्युनोग्लोबुलिन’ सेवा नहुँदा अन्यत्र प्रेषित गर्नुपर्ने बाध्यता
- सोलुखुम्बुमा स्व. देण्डी शेर्पाको स्मृतिमा खुला पुरुष भलिबल प्रतियोगिता हुने
- सोताङको चेपेल आधारभूत विद्यालय सोमबारदेखि पुनः सञ्चालन हुने
- चाडपर्वलाई लक्षित लुक्लामा बजार अनुगमन, ३ लाख बढिको अखाद्य वस्तु जफत






2026-09-25-12-26-16.2026-09-30-08-36-07.jpeg)
