आइतबार, १८ असोज, २०८३ (1790964900)
शनिबार असोज १७, २०८३

सोलुखुम्बुमा स्व. देण्डी शेर्पाको स्मृतिमा खुला पुरुष भलिबल प्रतियोगिता हुने

       सोलुखुम्बुः   सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० टाप्टिङ र सेभेन समिट्स फाउन्डेसनको संयुक्त आयोजनामा स्व. देण्डी शेर्पाको स्मृतिमा वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता २०८३ आयोजना हुने भएको छ । प्रतियोगिता आगामी कार्तिक ११ गतेदेखि १४ गतेसम्म सोलुदुधकुण्ड–१० स्थित श्री फतान्जे आधारभूत विद्यालय खाम्दिङ खेल मैदानमा सञ्चालन हुने वडा अध्यक्ष होम बहादुर मगरले जानकारी दिनुभयो ।  
   प्रतियोगिताको विजेता टोलीले रु. २,०५,००० नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन्। त्यसैगरी दोस्रो हुनेले रु. १,५०,०००, तेस्रो हुनेले रु. ९५,००० र सान्त्वना पुरस्कारस्वरूप रु. ४५,००० प्राप्त गर्नेछन्। ’म्यान अफ द म्याच’, ’बेस्ट स्पाइकर’, ’बेस्ट सेटर’, ’बेस्ट ब्लकर’, ’बेस्ट सर्भर’, ’बेस्ट लिबेरो’ र ’बेस्ट कोच’ विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही रु. ५,५०० नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।  
   प्रतियोगितामा देशभरका जुनसुकै वडाबाट खेलाडीहरू सहभागी हुन पाउनेछन्। प्रत्येक टोलीमा १० जना खेलाडी र ३ जना पदाधिकारीसहित १३ जनाको समूह हुनुपर्नेछ, जसमा सम्बन्धित वडा बाहेक अन्य २ जना नेपाली खेलाडी थप गर्न पाइने प्रावधान छ।  
   सहभागी टिमको दर्ता शुल्क रु. ५,००० तोकिएको छ। इच्छुक टोलीहरूले कार्तिक १० गते बेलुका ४ः०० बजेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ भने सोही दिन बेलुकी खेल तालिका प्रकाशन गरिनेछ। खेलहरू नेपाल भलिबल सङ्घ एनभिए र अन्तर्राष्ट्रिय भलिबल महासङ्घ एफआइभिवीको नियम अनुसार सञ्चालन हुने आयोजकले जनाएको छ।