आइतबार, १८ असोज, २०८३ (1790878500)
शुक्रबार असोज १६, २०८३

  चाडपर्वमा दुर्घटना न्यूनीकरण र व्यवस्थित यातायातका लागि सोलुखुम्बुमा १३ बुँदे निर्णय

     सोलुखुम्बुः    दशैँ, तिहार तथा छठ पर्वको अवसरमा जिल्लाभित्र सवारी साधन तथा यात्रीहरूको चाप अत्यधिक बढ्ने, लामो दूरीका यात्राहरू वृद्धि हुने र सडक दुर्घटनाको जोखिमसमेत उच्च रहने सम्भावनालाई मध्यनजर गर्दै सोलुखुम्बुमा सरोकारवाला निकायहरूबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम  भएको छ।
   जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुमा सोलुदुधकुण्ड नगरपालिकाकी उपप्रमुख गान्धी माया तामाङको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका निमित्त सहायक प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालगायत यातायात व्यवसायी, सवारी चालक, सुरक्षाकर्मी, तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
   कार्यक्रममा बोल्दै उपप्रमुख गान्धी माया तामाङले नगरभित्र सरसफाइ तथा स्वच्छता कायम राख्न, यात्राका क्रममा सिर्जना हुने प्लास्टिकजन्य फोहोर जथाभाबी नफ्याँक्न आग्रह गर्दै नगरपालिकाको तर्फबाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। त्यस्तै निमित्त सहायक प्रजिअ भूपेन्द्र थापाले सडक दुर्घटना न्यूनीकरण गर्न र यात्रुहरूलाई सुरक्षित सेवा प्रदान गर्न सम्बद्ध सबै पक्षले आ–आफ्नो जिम्मेवारी र अनुशासन पालना गर्नुपर्नेमा जोड दिनुभयो। यातायात व्यवसायीहरूले पनि पर्वका बेला भाडा दर नियन्त्रण, सुरक्षा व्यवस्थामा कडाइ तथा थकानका कारण हुने दुर्घटना रोक्न चालकहरूलाई अनिवार्य विश्रामको व्यवस्था मिलाउनुपर्ने विषयमा ऐक्यबद्धता जनाएका छन्।
    त्यस्तै उक्त बैठकले जिल्लाको दुर्घटना न्यूनीकरण गरी सुरक्षित, सहज र व्यवस्थित यातायात सञ्चालनका लागि १३ बुँदे महत्त्वपूर्ण प्रतिबद्धता तथा निर्णयहरू पारित गरेको छ। सवारी दुर्घटनाको जोखिम पहिचान तथा न्यूनीकरणका लागि विगतमा दुर्घटना भएका र दुर्घटनाको सम्भावना उच्च रहेका सडक, खण्ड तथा स्थानहरूको पहिचान गरी प्रमुख कारणको विश्लेषण गरिने भएको छ। पहिचान गरिएका सुधारयोग्य विषयहरूमा तत्काल आवश्यक कदम चाल्न सम्बद्ध निकायमार्फत पहल गरिनेछ।
   त्यसैगरी पर्वका बेला हुने यात्रु तथा सवारीको चाप व्यवस्थापनका लागि बसपार्क, मुख्य बजार क्षेत्र, राजमार्ग, सहायक मार्ग र बढी आवतजावत हुने स्थानहरूमा ट्राफिक व्यवस्थापनलाई थप चुस्त बनाइनेछ। सवारी साधनको यान्त्रिक परीक्षणलाई अनिवार्य गर्दै लामो तथा छोटो दूरीमा सञ्चालन हुने सार्वजनिक गाडीहरूको ब्रेक, टायर, बत्ती, स्टेयरिङ र इन्डिकेटर लगायतका सुरक्षा उपकरणको अवस्था दुरुस्त रहेको सुनिश्चित गरेर मात्र सञ्चालन गर्न दिइनेछ।
    चालकको व्यवहार र क्षमता नियन्त्रणतर्फ ध्यान दिँदै मादक पदार्थ वा लागूपदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा हाँक्ने, लापरवाही तथा जथाभाबी ओभरटेक गर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूलाई प्रचलित कानून बमोजिम कडा कारबाही गरिनेछ। चाप बढ्ने क्षेत्रहरूमा आवश्यक पार्किङ क्षेत्रको पहिचान र व्यवस्थापन गर्नुका साथै आवश्यकता अनुसार वैकल्पिक मार्गको पहिचान गरी सवारी आवागमन सहज बनाइनेछ।
   मुख्य तथा सहायक सडकहरूमा रहेका खाल्डाखुल्डी, सडक अवरोध, पहिरोको जोखिम, सडक बत्ती, ट्राफिक सङ्केत र रोड मार्किङ जस्ता विषयमा अनुगमन गरी तत्काल मर्मत तथा सुधारका लागि सम्बन्धित निकायमा विवरण पठाइने निर्णय भएको छ। 
   यात्रुको सहजताका लागि मुख्य बसपार्क, राजमार्ग र सीमा नाकाहरूमा यात्रु सहायता कक्ष सञ्चालन गरी आवश्यक सूचना, सहजीकरण र सहायता उपलब्ध गराइनेछ। साथै सुरक्षित यात्रा र ट्राफिक नियम पालनासम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ।
   अनुगमनलाई कडाइ गर्न सम्बन्धित सरोकारवाला निकायहरूसँगको समन्वयमा नियमित तथा आकस्मिक रूपमा सवारी साधनको यान्त्रिक अवस्था, चालकको अवस्था, ओभरलोड, तीव्र गति र अन्य ट्राफिक नियम उल्लङ्घनको संयुक्त जाँच गरिनेछ। सवारी दुर्घटना वा सडक अवरोध भएको खण्डमा तत्काल उद्धार, उपचार, घाइतेको व्यवस्थापन तथा यातायात सुचारु गर्न सुरक्षा निकाय, स्वास्थ्य संस्था, स्थानीय तह र सरोकारवालाबीच प्रभावकारी समन्वय गरिनेछ।
   पर्वको अवधिभर सवारी आवागमन, दुर्घटना, सडक अवरोध र चाप सम्बन्धी आकस्मिक सूचनाहरू सम्बद्ध निकायहरूबीच तत्काल आदान–प्रदान गरी आवश्यक निर्णय र व्यवस्थापन गरिनेछ। तयार पारिएको कार्ययोजनाको नियमित अनुगमन र पर्व समाप्तिपश्चात् समग्र समीक्षा एवं मूल्याङ्कन गरी आगामी दिनमा सुधारका कदम चालिनेछ।
   अन्तमा, प्रतिबद्धता पत्रमा उल्लेखित विषयहरू कार्यान्वयन गर्न सम्बन्धित कार्यालय तथा निकायले आफ्नो जिम्मेवारी अनुसार आवश्यक जनशक्ति र स्रोत–साधनको प्रभावकारी परिचालन गर्ने निर्णय गरिएको छ। प्रहरी, यातायात व्यवसायी, चालक, सहचालक, स्थानीय तह, सडक सम्बन्धी निकाय, स्वास्थ्य संस्था, सञ्चारमाध्यम तथा सबै सरोकारवाला निकायहरूबीच निरन्तर सहकार्य, समन्वय र साझेदारी कायम राख्दै सुरक्षित र मर्यादित यातायात सेवा प्रदान गर्न सबै पक्ष प्रतिबद्ध भएका छन्।