आइतबार, १८ असोज, २०८३ (1790878500)
शुक्रबार असोज १६, २०८३

 चाडपर्वलाई लक्षित लुक्लामा बजार अनुगमन, ३ लाख बढिको अखाद्य वस्तु जफत  

सोलुखुम्बु :  पर्यटकीय सिजन र चाडपर्वलाई लक्षित गर्दै खुम्बु पासाङल्हामु गाउँपालिकाले लुक्ला बजारमा अनुगमन गरेको छ ।  वडा नम्बर २ का वडाध्यक्ष आङ फुर्वा शेर्पाको अध्यक्षतामा गरिएको अनुगमनमा गाउँपालिका, वडा कार्यालय, टोल विकास संस्था, खाद्य कार्यालय, नेपाल प्रहरी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी टोलीले  अनुगमनका क्रममा ३ लाख २६ हजार ४ सय ७० रुपैयाँ बराबरका अखाद्य तथा म्याद गुज्रिएका सामग्री जफत गरेको हो ।
पर्यटकीय सिजन सुरु भएसँगै लुक्लामा पर्यटक तथा उपभोक्ताको चहलपहल बढ्ने र चाडपर्वका बेला खाद्य तथा उपभोग्य वस्तुको मागसमेत बढ्ने भएकाले बजारमा अखाद्य, म्याद गुज्रिएका र गुणस्तरहीन सामग्रीको बिक्री–वितरण रोक्न अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुजन कुमार बुढाथोकीका अनुसार अनुगमनका क्रममा उपभोगका लागि अनुपयुक्त तथा म्याद गुज्रिएका सामग्री भेटिएपछि जफत गरिएको हो। उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षालाई प्राथमिकतामा राख्दै बजार अनुगमनलाई आगामी दिनमा समेत निरन्तरता दिइनेछ । गाउँपालिकाले व्यवसायीलाई म्याद नाघेका, अखाद्य तथा गुणस्तरहीन सामग्री बिक्री नगर्न सचेत गराएको छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गतिविधि नगर्नसमेत व्यवसायीलाई आग्रह गरिएको गाउँपालिकाले जनाएको छ ।