आइतबार, १८ असोज, २०८३ (1790964900)
शनिबार असोज १७, २०८३

 फाप्लु अस्पतालमा ३१ जनाले लगाए रेबिजविरुद्धको खोप, ’इम्युनोग्लोबुलिन’ सेवा नहुँदा अन्यत्र प्रेषित गर्नुपर्ने बाध्यता

   सोलुखुम्बुः  जिल्ला अस्पताल फाप्लुमा गत बर्षको साउनदेखि हालसम्म कुकुरको टोकाइबाट घाइते भएका ३१ जनाले रेबिजविरुद्धको खोप लगाएका छन्। अस्पतालका अनुसार प्रदेश सरकारबाट प्राप्त रेबिजविरुद्धको खोप हाल निःशुल्क रूपमा उपलब्ध भइरहेको छ । 
  अहिले अस्पतालमा ३५ जनालाई पुग्ने गरी थप खोप प्राप्त भएकाले सेवाग्राहीलाई निःशुल्क वितरण भइरहेको र मौज्दात सकिएको समयमा मात्र बिरामीले किनेर लगाउनुपर्ने अवस्था रहने अस्पतालले जनाएको छ।
   अस्पतालका सूचना अधिकारी लेमी शेर्पाका अनुसार फाप्लु अस्पतालमा हालसम्म रेबिजका कारण कसैको पनि मृत्यु भएको छैन। तर, जनावरको जटिल टोकाइका कारण ’इम्युनोग्लोबुलिन’सेवा आवश्यक पर्ने गम्भीर प्रकृतिका बिरामीलाई भने अस्पतालमा सो सेवा उपलब्ध नभएकाले काठमाडौँ वा विराटनगर प्रेषित गर्नुपर्ने बाध्यता रहेको छ।
    टेकु अस्पतालका निर्देशक डा.अनुप बाँस्तोलाले रेबिज घातक रोग भए पनि समयमै रेबिजविरुद्धको खोप लगाएको अवस्थामा शतप्रतिशत रोकथाम तथा बचाउन सकिने जानकारी दिनुभयो । उहाँले जनावरको टोकाइलाई सामान्य रूपमा लिन नहुने जानकारी दिँदै कुकुर, बिरालो वा रेबिजको सम्भावित जोखिम भएका अन्य जनावरले टोकेमा वा चिथोरेमा घाउलाई साबुन र बगिरहेको पानीले कम्तीमा १५ मिनेटसम्म राम्ररी धुनुपर्ने र तत्काल स्वास्थ्य संस्थामा पुग्नुपर्ने जानकारी दिनुभयो । 
   डा. बाँस्तोलाका अनुसार टोकेको घाउमा खुर्सानी, तेल, माटो, जडीबुटी वा अन्य घरेलु पदार्थ लगाउन नहुने सुझाव दिनुभयो । उहाँले कुकुरलगायतका जनावरले टोकेपछि अस्पताल गएर रेबिजविरुद्धको खोप लगाउन सुझाव दिनुभयो ।