शुक्रबार, ९ असोज, २०८३ (1790187300)
बिहीबार असोज ८, २०८३

 भारी वर्षाको पूर्वानुमानः क्षति न्यूनीकरणका लागि सोलुखुम्बुका आठवटै स्थानीय तह उच्च सतर्क

   सोलुखुम्बु — जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म लगातार झरी र भारी (आरीघोप्टे) वर्षा हुने पूर्वानुमान गर्दै सोलुखुम्बु जिल्लालाई अति संवेदनशील सूचीमा राखेपछि यहाँका आठवटै स्थानीय तहहरूले विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि पूर्वतयारी तीव्र पारेका छन्। 
   वर्षाका कारण हुन सक्ने बाढी, पहिरो र सम्भावित क्षतिलाई ध्यानमा राख्दै स्थानीय पालिकाहरूले आपत्कालीन कोष, खाद्यान्न स्टक, पूर्वचेतावनी प्रणाली र उद्धार टोलीहरूलाई तयारी अवस्थामा राखेका हुन् । 
   हिमाली क्षेत्रमा रहेको खम्बुपासाङ ल्हामु गाउँपालिकाले विपद् व्यवस्थापनका लागि करिब ४ करोड रुपैयाँको आपत्कालीन कोष रहेको जनाएको छ । पालिकाका अध्यक्ष मिङमा छिरि शेर्पाका अनुसार बाढी–पहिरोले सडक सञ्जाल अवरुद्ध भए पनि ढुवानी र आपूर्तिमा समस्या नआओस् भनेर ३ देखि ४ महिनासम्म पुग्ने खाद्यान्न र अत्यावश्यक औषधि भण्डारण गरिसकिएको छ। साथै, थामेदेखि सुर्केसम्म पूर्वचेतावनी प्रणाली ( जडान गरिएको छ भने खोला किनारका जोखिमयुक्त बस्ती बचाउन ग्याबिन वालसहितका रोकथामका कामहरू भइरहेका छन्।
   जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाले सम्भावित विपत्लाई ध्यानमा राख्दै आफ्ना एक्साभेटर लगायतका मेसिनहरू जुनसुकै बेला परिचालन गर्न सकिने गरी तयार राखेको छ। नगरपालिकाका फोकल पर्सन गणेश कुमार श्रेष्ठका अनुसार नगर प्रहरी र स्वास्थ्यकर्मीहरूलाई उच्च सतर्कतामा राखिएको छ भने वडा कार्यालय तथा स्वास्थ्य केन्द्रहरूलाई घटना घट्नासाथ तत्काल जानकारी गराउन निर्देशन दिइएको छ। वर्षाका कारण विद्यार्थीहरूमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरपालिका क्षेत्रभित्रका सबै विद्यालयहरू बन्द गर्न पत्राचार गरिएको छ।
   महाकुलुङ गाउँपालिकाकी उपाध्यक्ष विपना कुलुङका अनुसार स्थानीय प्रहरी, सुरक्षाकर्मी र जनप्रतिनिधिहरूलाई उच्च सतर्क अवस्थामा राखिनुका साथै बाटो खुलाउन र उद्धार कार्यलाई छिटो बनाउन स्थानीय जलविद्युत् आयोजनाहरूसँग समन्वय गरी तिनका जेसीबी लगायतका भारी उपकरणहरू तयारी अवस्थामा राखिएको छ।
   नेचासल्यान गाउँपालिकाले नागरिकलाई सचेत गराउन साइरनमार्फत पूर्वसूचना दिने व्यवस्था मिलाएको छ। प्रशासकीय अधिकृत युवराज पोखरेलका अनुसार हिजैदेखि साइरन बजाएर सतर्क रहन सूचित गरिँदै आएको छ भने वडा स्तरका कर्मचारी र जनप्रतिनिधिलाई सजग गराउँदै पालिकाले प्रत्येक घण्टा वडाहरूसँग निरन्तर सम्पर्क र समन्वय गरिरहेको छ।
    थुलुङ दूधकोशी गाउँपालिकाले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न र बिहान ६ बजेपछि जरुरी नपरी सवारी साधन नचलाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। फोकल पर्सन शरण कुमार राईका अनुसार बालबालिकाको सुरक्षाका लागि पालिकाका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको छ। गाउँपालिकाले आफ्ना मेसिनहरू तयारी अवस्थामा राख्नुका साथै कोशी पारिको क्षेत्रका लागि स्थानीय दूधकोशी हाइड्रोपावरका जेसीबी तथा उपकरणहरूसँग समन्वय गरेको छ। विशेषगरी जुबुको वडा नं. ५, नेलेको वडा नं. १ तल्लो क्षेत्र पहिरोको उच्च जोखिममा रहेकाले ती स्थानमा विशेष निगरानी राखिएको छ।
   माप्य दूधकोशी गाउँपालिकाले दूधकोशी नदी तटीय क्षेत्रमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरी जलस्तरको निरन्तर अनुगमन गरिरहेको छ। उपाध्यक्ष गौरव राईका अनुसार सम्भावित जोखिमयुक्त क्षेत्र पहिचान गरी नागरिक सचेतना फैलाइएको छ भने तत्काल उद्धारका लागि हेभी इक्युपमेन्ट (जेसीबी) तयार राखिएको छ। उद्धार र राहतका लागि स्थानीय प्रशासन, नेपाल प्रहरी, स्वास्थ्य संस्था र स्थानीय व्यवसायीहरूसँग निरन्तर समन्वय भइरहेको छ।
   यसैगरी सोताङ गाउँपालिका र लिखु पिके गाउँपालिकाले पनि सम्भावित विपद्को सामना गर्न आ–आफ्नो क्षेत्रमा पूर्वतयारी पूरा गरेका छन्। सोताङका प्रमुख प्रशासकीय अधिकृत रमेश पौडेल र लिखु पिके गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतका अनुसार स्थानीय प्रहरी, सुरक्षा निकाय र अन्य सम्बद्ध पक्षहरूसँग निकट समन्वय गरी जुनसुकै अवस्थाको सामना गर्न पालिका संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ।
   प्राकृतिक विपद्को जोखिम उच्च रहेकाले जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधि तथा अधिकारीहरूले आफ्ना क्षेत्रका नागरिकहरूलाई उच्च सजगता अपनाउन, पालिकाले जारी गरेका सुरक्षा सम्बन्धी सूचना र निर्देशनहरूको पूर्ण पालना गर्न तथा सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।