यस वर्षको रेड पाण्डा म्याराथन सोलुखुम्बुको पिकेपिकमा
सोलुखुम्बुः सोलुखुम्बुको सल्लेरीमा ‘रेड पाण्डा म्याराथन – २०२६’ को तेस्रो संस्करण आयोजना हुने भएको छ । दुर्लभ वन्यजन्तु रेड पाण्डाको दीर्घकालीन संरक्षण र यसको बासस्थान पुनस्र्थापनाका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आगामी भदौ २० गते ‘रेड पाण्डा म्याराथन – २०२६’ को तेस्रो संस्करण आयोजना हुने भएको हो ।
रेड पाण्डा नेटवर्कको आयोजना र ’प्ले फर नेचर’ को मुख्य आर्थिक सहयोगमा हुन लागेको यस प्रतियोगिताले तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पु¥याउने लक्ष्य राखिएको छ।
अन्तर्राष्ट्रिय रेड पाण्डा दिवसको अवसर पारेर आयोजना गर्न लागिएको यो म्याराथन सल्लेरीस्थित २ हजार ३ सय ६० मिटर उचाइमा रहेको थेकछेन पेमा छोलिङ गुम्बाबाट सुरु भई ४ हजार ५४ मिटर उचाइको पिके पिकसम्म पुगेर पुनः सोही स्थानमा फर्किनेछ। कुल ४८ किलोमिटर लम्बाइ र २ हजार ८ सय ७२ मिटर भन्दा बढी उचाइ बढोत्तरी हुने यो ट्रेललाई अन्तर्राष्ट्रिय ट्रेल रनिङ एसोसिएसनले ३ पोइन्ट प्रदान गरेको छ। अनुभवी ट्रेल धावकहरूका लागि कठिन मानिएको यो कोर्स ७ घण्टा ३० मिनेटभित्र पूरा गर्नुपर्ने सीमा तोकिएको छ।
यस वर्षको म्याराथनमा पहिलो पटक ५ किलोमिटर लामो ‘रेड पाण्डा फन रन’ पनि समावेश गरिएको छ। थेकछेन पेमाछोलिङ गुम्बाबाट सुरु भई सल्लेरीको सेर्गा खोप, पोंग डाँडा, फाप्लु र ठूलो घर हुँदै पुनः गुम्बामा पुगेर टुङ्गिने यो दौड सबै उमेर र क्षमताका सहभागीका लागि सहज बनाइएको छ। विशेष गरी स्थानीय समुदायको सहभागितालाई प्रोत्साहन गर्न ल्याइएको यस फन रनमा प्रख्यात अभिनेता तथा रेड पाण्डा नेटवर्कका संरक्षण एम्बासेडर दयाहाङ राईको समेत उपस्थिति रहनेछ।
म्याराथनका विजेता महिला तथा पुरुष धावकहरूलाई छुट्टाछुट्टै नगद पुरस्कार, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । ४८ किलोमिटर म्याराथनतर्फ पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेले क्रमशः १ लाख ५० हजार, १ लाख, ५० हजार र ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, फरेस्ट गार्डियन विधाका उत्कृष्ट तीनलाई २५ हजार, २० हजार र १० हजार रुपैयाँ तथा ५ किलोमिटर फन रनका शीर्ष चार विजेतालाई २५ हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार दिइनेछ। दौड पूरा गर्ने सबै धावकलाई फिनिसर मेडल प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी हुनका लागि ४८ किलोमिटर म्याराथनतर्फ नेपालीका लागि ३ हजार र विदेशीका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ।
५ किलोमिटर फन रनमा भने नेपालीलाई १ हजार ५ सय, विदेशीलाई २ हजार र सोलुखुम्बुका स्थानीयलाई ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ। इच्छुक धावकहरूले संस्थाको आधिकारिक वेबसाइटमार्फत अनिवार्य रूपमा दर्ता गराउनुपर्नेछ। यसअघि सन् २०२४ मा ताप्लेजुङको पाथीभरा र सन् २०२५ मा इलाममा सम्पन्न भएका दुई संस्करणमा नेपालका १६ भन्दा बढी जिल्लाका साथै भारत र जापानका गरी १४० धावकले सहभागिता जनाइसकेका छन्। हिमाली वातावरण र अमूल्य प्राकृतिक सम्पदाको संरक्षणबारे नयाँ पुस्तामा जिम्मेवारीबोध गराउन यस्ता खेलकुद कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजक संस्थाले जनाएको छ।
हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा सोलुखुम्बुका अध्यक्ष ङिमा तेण्डुप शेर्पाले वनमा मानिसहरूले नदेखेका धेरै अमूल्य प्राकृतिक सम्पदाहरू रहेको र रेड पाण्डा तिनैमध्ये एक भएको बताउनुभयो। यस्ता कार्यक्रमले स्थानीय प्राकृतिक सम्पदालाई नजिकबाट बुझ्न र यसको संरक्षण गर्नु वर्तमान तथा भावी पुस्ताको साझा जिम्मेवारी हो भन्ने कुरा सम्झाउन मद्दत पु¥याउने उहाँको भनाइ छ।
ताजा खबर
सबै- खुम्बु पासाङल्हामु–४ मा एक वर्षमा ४८ व्यक्तिगत घटना दर्ता, जन्म र विवाह दर्ता तोकिएको समय पछि मात्रै
- ब्रोड पिक हिमपहिरो परी ज्यान गुमाएका १० आरोहीको सम्झनामा इस्लामाबादमा मैनबत्ती प्रज्वलन
- सोलुखुम्बुमा एक वर्षमा ६८ मुद्दा दर्ता, १०२ जना प्रतिवादी पक्राउ
- सासंद कार्कीद्वारा सोलुखुम्बुका विद्युत् र सिँचाइ आयोजना तत्काल अघि बढाउन ऊर्जा मन्त्रीको ध्यानाकर्षण
- खुम्बु पासाङल्हामु– ५ले एक वर्षको अवधीमा २४ लाखभन्दा बढी राजस्व सङ्कलन गर्यो
2026-08-11-05-01-17.jpeg)



2026-08-08-08-16-35.jpeg)

