बिहीबार, २८ श्रावण, २०८३ (1786212900)
आइतबार श्रावण २४, २०८३

 सोलुखुम्बुमा ११६ थान ग्यास मौज्दात, १५ दिनभित्र थप ५०० सिलिन्डर आपूर्ति गरिने

    सोलुखुम्बु — बजारमा एलपी ग्यासको सम्भावित अभाव, कालोबजारी र मूल्यवृद्धिको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलुखुम्बु उद्योग वाणिज्य संघको संयुक्त टोलीले बजार अनुगमन गरेको छ। ग्यासको आपूर्ति स्थिति र बजारको वास्तविक अवस्था बुझ्न टोलीले शनिवार  ११ वटा पसलहरूको स्थलगत निरीक्षण गर्दा हाल बजारमा ११६ थान एलपी ग्यास सिलिन्डर मौज्दात रहेको पाइएको हो ।
   सामाजिक सञ्जालमा ग्यास लुकाइएको, कालोबजारी भएको र पहुँचवालालाई मात्र वितरण गरिएको भन्ने गुनासोहरूपछि प्रशासनले स्थलगत अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीले बताउनुभयो । अनुगमनका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले सामाजिक सञ्जालमा आएका सबै हल्ला सत्य नरहेको बताउनुभयो। उहाँले बजारमा ग्यासको वास्तविक अवस्था, मौज्दात र बिक्री प्रक्रियाबारे पारदर्शी रूपमा छानबिन भइरहेको र उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन प्रशासन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
  यसैबीच, जिल्ला प्रशासन कार्यालय र सोलुखुम्बु उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखहरू तथा सरोकारवाला पत्रकारहरूको उपस्थितिमा बसेको बैठकले ग्यास आपूर्ति र मूल्य नियन्त्रणका लागि मुख्य दुई निर्णयहरू गरेको  छ ।  जिल्लामा देखिएको ग्यासको अभावलाई सम्बोधन गर्दै आगामी १५ दिनभित्र कम्तीमा ५०० थान ग्यास सिलिन्डर थप आपूर्ति गरी सहज उपलब्धता सुनिश्चित गर्ने निर्णय गरिएको छ।   यसका साथै, उपभोक्ताहरूबाट ग्यासको मूल्यमा व्यापक गुनासो आएकाले बिक्री वितरणलाई व्यवस्थित बनाउन विक्रेताहरूलाई कडा निर्देशन दिइएको छ। अब विक्रेताहरूले नेपाल आयल निगमले तोकेको आधिकारिक मूल्यमा मनासिब ढुवानी खर्च मात्र जोडेर ग्यास बिक्री गर्नुपर्नेछ। यदि कसैले तोकिएको भन्दा बढी मूल्य लिएको, कृत्रिम अभाव सिर्जना गरेको वा कालोबजारी गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ।