बिहीबार, २८ श्रावण, २०८३ (1786558500)
बिहीबार श्रावण २८, २०८३

  खुम्बु पासाङल्हामु–४ मा एक वर्षमा ४८ व्यक्तिगत घटना दर्ता, जन्म र विवाह दर्ता तोकिएको समय पछि मात्रै

    सोलुखुम्बु ः खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ मा आर्थिक बर्ष २०८२ ÷ ८३ मा कुल ४८ वटा व्यक्तिगत घटना दर्ता भएका छन्। वडा कार्यालयले सार्वजनिक गरेको सेवा प्रवाह सम्बन्धी तथ्याङ्क अनुसार दर्ता भएका घटनाहरूमध्ये कानुनले तोकेको ३५ दिनभित्र दर्ता गराउनेको सङ्ख्या भन्दा म्याद नाघेपछि दर्ता गराउनेको सङ्ख्या उल्लेख्य रूपमा बढी देखिएको छ।
   तथ्याङ्क अनुसार एक वर्षको अवधिमा १७ जनाको जन्म दर्ता भएकोमा सबै १७ वटै दर्ता ३५ दिनको समयसीमा नाघेपछि मात्र गराइएको छ। ३५ दिनभित्र एउटा पनि जन्म दर्ता नभएको वडा कार्यालयको विवरणमा उल्लेख छ। त्यसैगरी, विवाह दर्तातर्फ पनि कुल १० वटै विवाह दर्ता ३५ दिनपछि मात्रै गराइएको छ, जसले स्थानीय तहमा जन्म र विवाह दर्ता समयमै नगराउने परिपाटी रहेको देखाउँछ।
    मृत्यु दर्तातर्फ भने एक वर्षमा कुल १५ वटा घटना दर्ता भएका छन्। जसमध्ये ६ जनाको मृत्यु दर्ता तोकिएको ३५ दिनभित्रै गरिएको थियो भने बाँकी ९ वटा मृत्यु दर्ता ३५ दिन पछि मात्रै गराइएको छ। यसैगरी सम्बन्ध विच्छेदका कुल २ वटा मुद्दा दर्ता भएकोमा १ वटा ३५ दिनभित्र र अर्को १ वटा ३५ दिनपछि दर्ता भएको छ।
   बसाइँसराइको स्थिति हेर्दा सो वडामा बसाइँ सरी आउनेभन्दा बाहिरिनेको सङ्ख्या बढी देखिएको छ। वर्षभरिमा अन्यत्रबाट वडामा बसाइँ सरी आउनेको सङ्ख्या १ रहेको छ भने सो वडाबाट अन्यत्र बसाइँ सरी जानेको सङ्ख्या ३ रहेको छ। बसाइँसराइका यी सबै (४ वटै) घटना भने तोकिएको ३५ दिनको म्यादभित्रै दर्ता भएका छन्।
   एक वर्षको अवधिमा दर्ता भएका कुल ४८ घटनामध्ये ११ वटा मात्रै ३५ दिनभित्र र बाँकी ३७ वटा घटना ३५ दिनपछि दर्ता भएका छन्। समयमै व्यक्तिगत घटना दर्ता गर्दा सरकारी सेवा सुविधा लिन सहज हुने भएकाले तोकिएकै म्यादभित्र घटना दर्ता गराउन वडा कार्यालयले नागरिकहरूलाई आग्रह गर्दै आएको छ।