बिहीबार, २८ श्रावण, २०८३ (1786558500)
बिहीबार श्रावण २८, २०८३

  सासंद कार्कीद्वारा सोलुखुम्बुका विद्युत् र सिँचाइ आयोजना तत्काल अघि बढाउन ऊर्जा मन्त्रीको ध्यानाकर्षण

    सोलुखुम्बुः सोलुखुम्बुका प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्कीले जिल्लाको विद्युतीकरण र सिँचाइ पूर्वाधार विकासका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठको ध्यानाकर्षण गराउनुभएको छ। सांसद कार्कीले सोलुखुम्बुका विभिन्न क्षेत्रमा निर्माणाधीन तथा प्रस्तावित महत्वपूर्ण आयोजनाहरूलाई प्राथमिकताका साथ अघि बढाउन मन्त्रीसमक्ष जोडदार माग गर्नुभएको हो।
    ध्यानाकर्षण पत्र प्रस्तुत गर्दै सांसद कार्कीले सोलुखुम्बुको सोताङ र खुम्बुपासाङल्हामु गाउँपालिकामा विद्युत् सब–स्टेसन निर्माणको प्रक्रिया तुरुन्त सुरु गर्न आग्रह गर्नुभएको छ। यसका साथै, प्रसिद्ध पर्यटकीय क्षेत्र कालापत्थरसम्म ३२ केभीएको केन्द्रीय प्रसारण लाइन विस्तार गर्न, सोलुखुम्बु जिल्लाभर ग्रामीण विद्युतीकरणको कामलाई प्राथमिकताका साथ सम्पन्न गर्न र जिल्लाका विभिन्न भागमा रहेका सिँचाइ आयोजनाहरूलाई अगाडि बढाएर यथाशीघ्र पूरा गर्ने वातावरण मिलाउन उहाँले माग गर्नुभएको थियो।
   सांसद कार्कीको आग्रहलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले सोलुखुम्बु जिल्लाको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो। मन्त्री श्रेष्ठले सोलुखुम्बुको विद्युतीकरण तथा सिँचाइ सम्बन्धी यी आयोजनाहरूको प्रक्रिया तत्काल सुरु गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एमडी दीर्घायु श्रेष्ठ लगायत सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशन दिनुभएको छ।मन्त्रीको यस सकारात्मक कदमसँगै सोलुखुम्बुका दुर्गम क्षेत्रमा केन्द्रीय प्रसारण लाइनको पहुँच पुग्ने, विद्युत् आपूर्ति सहज हुने र सिँचाइ सुविधा विस्तार भई स्थानीय जनताले प्रत्यक्ष राहत पाउने विश्वास लिइएको छ।