बिहीबार, २८ श्रावण, २०८३ (1786040100)
शुक्रबार श्रावण २२, २०८३

सोलुखुम्बुमा पार्किङ गरि राखेको गाडीबाट रकम चोरी,एक जना पक्राउ

 सोलुखुम्बु :  सोताङ गाउँपालिकामा पार्किङ गरी राखिएको गाडीबाट नगद चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ का २४ वर्षीय रोहन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी निर्मल थापाले जानकारी दिनुभयो ।  बिहिबार राति करिब १ बजे सोताङ गाउँपालिका–५, शिवटार बजारस्थित पार्किङमा राखिएको प्रदेश ३–०१–०२४ च ७३०६ नम्बरको बोलेरो गाडीबाट रकम चोरी भएको थियो ।
सर्लाहीको कौडेना गाउँपालिका–३ निवासी ३२ वर्षीय शैलेन्द्र चौधरीको उक्त गाडीभित्र सामान बिक्रीबाट सङ्कलित १ लाख ३७ हजार ५ सय रुपियाँ चोरी भएको प्रहरीले जनाएको छ । घटनालगत्तै खटिएको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा उनले गाडीभित्र अनाधिकृत रूपमा प्रवेश गरी उक्त रकम चोरी गरेको खुलेको छ । प्रहरीले सोताङ गाउँपालिका–३ स्थित खरेमा लुकाई राखिएको अवस्थामा चोरी भएको रकममध्ये ५० हजार बरामद गरेको छ । पक्राउ परेका तामाङमाथि चोरीसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत सोलुखुम्बुबाट म्याद थप गरेर अनुसन्धान  भइरहेको छ ।