बिहीबार, २८ श्रावण, २०८३ (1786558500)
बिहीबार श्रावण २८, २०८३

सोलुखुम्बुमा एक वर्षमा ६८ मुद्दा दर्ता, १०२ जना प्रतिवादी पक्राउ

  सोलुखुम्बु — जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले एक वर्षको अवधिमा विभिन्न अपराधमा संलग्न कुल १०२ जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ । यस अवधिमा जिल्लामा कुल ६८ वटा मुद्दा दर्ता भएका थिए। दर्ता भएका मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले ९१ जना प्रतिवादीलाई तत्काल र ११ जना फरार प्रतिवादीलाई गरी जम्मा १०२ जनालाई नियन्त्रणमा लिएको हो।
   प्रहरीले अदालतको फैसला कार्यान्वयन प्रक्रियालाई पनि तीव्रता दिएको छ । सोही अवधिमा पुराना मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका २५ जना अभियुक्तहरूलाई पक्राउ गरिएको छ। पक्राउ परेका २५ जनाबाट कुल १९ वर्ष ५ महिना २६ दिन कैद सजाय भुक्तानीका लागि पठाइएको छ भने उनीहरूबाट ५५ लाख १९ हजार ८६४ रुपैयाँ नगद जरिवाना समेत असुल गरिएको छ।

   यसैबीच, पछिल्लो समय आर्थिक अपराधका घटनामा पनि वृद्धि देखिएको छ । एक वर्षको अवधिमा वित्तीय कसुर सम्बन्धी कुल ९ वटा घटनाहरू दर्ता भएका छन्, जसमध्ये ८ वटा बैंकिङ कसुर र १ वटा ठगी सम्बन्धी मुद्दा रहेका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले शान्ति सुरक्षा सुदृढ बनाउनुका साथै अपराध नियन्त्रण र फैसला कार्यान्वयनको कामलाई निरन्तर प्रभावकारी ढङ्गले अगाडि बढाइरहेको जनाएको छ।