शनिबार, ९ श्रावण, २०८३ (1784744100)
बिहीबार श्रावण ७, २०८३

 सोलुखुम्बुमा कृषि विकासका ३१ कार्यक्रम कार्यान्वयन, ६६ लाखभन्दा बढी बजेट खर्च

     सोलुखुम्बुः   कृषि ज्ञान केन्द्र, सोलुखुम्बुले आर्थिक वर्ष २०८२÷०८३ मा स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमअनुसार विभिन्न महत्वपूर्ण कृषि विकासका कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ। केन्द्रका अनुसार गत आर्थिक वर्षमा स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत ३१ वटा कार्यक्रम कार्यान्वयन गरिएको थियो। ती कार्यक्रम सञ्चालनका लागि चालु खर्चतर्फ कुल ६६ लाख ७ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो। सो अवधिमा सोलुखुम्बुका कृषकहरूलाई व्यावसायिक बनाउन र उत्पादन वृद्धि गर्न विभिन्न व्यावसायिक तथा प्रविधि हस्तान्तरणसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिएका छन्। 
   प्राप्त विवरण अनुसार संघ सशर्त कार्यक्रमअन्तर्गत प्रदेशभित्र रहेका जिल्लाको प्राथमिकता प्राप्त कृषिमा नयाँ ब्लक विकास कार्यक्रम स्थापनाका लागि सबैभन्दा बढी १० लाख रुपैयाँ विनियोजन गरिएको थियो। माटोको उर्वराशक्ति बढाउन र सुधारका लागि माटो परीक्षण शिविर सञ्चालन, कृषि चुन तथा हरियो मल प्रवद्र्धन कार्यक्रमका लागि ५ लाख ४० हजार रुपैयाँ र जैविक तथा वानस्पतिक विषादी प्रयोग विस्तार कार्यक्रमका लागि ५ लाख १० हजार रुपैयाँ बजेट छुट्ट्याइएको थियो । 
   त्यसैगरी उन्नत प्रविधि प्रदर्शनका लागि ५ लाख रुपैयाँ, सुन्तलाजात बगैँचा व्यवस्थापन एवम् सुदृढीकरणका लागि ४ लाख रुपैयाँ, किवि बगैँचा व्यवस्थापन एवम् सुदृढीकरणका लागि ४ लाख रुपैयाँ र अकबरे बाली प्रवद्र्धन कार्यक्रमका लागि ४ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।
    कृषि व्यवसाय तथा तालिम क्षेत्रतर्फ व्यावसायिक कृषि फार्ममा कृषक इन्टर्न कार्यक्रमका लागि ३ लाख रुपैयाँ, जिल्लास्तर कृषक तालिम (२ पटक) का लागि ३ लाख रुपैयाँ, फार्म भित्र बीउ उत्पादन कार्यक्रम (३ पटक) का लागि ३ लाख रुपैयाँ र अदुवा बाली प्रवद्र्धन कार्यक्रमका लागि ३ लाख रुपैयाँ कायम गरिएको छ। 
   प्राविधिक सहयोगतर्फ स्थानीय तहमा कार्यरत प्राविधिकसँग मासिक समन्वय तथा तथ्याङ्क अद्यावधिक बैठक (४ पटक) का लागि २ लाख ४० हजार रुपैयाँ, कृषि यन्त्र उपकरणको प्रयोग प्रदर्शनका लागि २ लाख रुपैयाँ र अलैँची बगान व्यवस्थापन एवम् सुदृढीकरणका लागि २ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी विभिन्न स्थानहरूमा प्लान्ट क्लिनिक सञ्चालनका लागि १ लाख ७५ हजार रुपैयाँ, बाली चक्र प्रदर्शनका लागि १ लाख ५० हजार रुपैयाँ र स्थलगत घुम्ती कृषक तालिम (१० संख्या) का लागि १ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ। 
 साना प्रवद्र्धनात्मक तथा समन्वय कार्यक्रमहरूतर्फ कृषि कर्जामा ब्याज अनुदान परिचालन सम्बन्धी छलफलका लागि ६० हजार रुपैयाँ, व्यावसायिक कृषकहरूको सिकाइ आदानप्रदान अन्तरक्रियाका लागि ५० हजार रुपैयाँ, विद्यालयका विद्यार्थीसँग कृषि शिक्षाका लागि ५० हजार रुपैयाँ, बीउ उत्पादक व्यवसायीसँग अन्तरक्रियाका लागि ५० हजार रुपैयाँ, एग्रोभेट÷विषादी व्यवसायीसँग अन्तरक्रियाका लागि ५० हजार रुपैयाँ, बाली तथा पशुपंक्षी बीमा सम्बन्धी समन्वय बैठकका लागि ५० हजार रुपैयाँ, आकस्मिक प्रकोपमा सहयोगका लागि ५० हजार रुपैयाँ र कृषि सम्बद्ध विभिन्न दिवसहरू मनाउन ५० हजार रुपैयाँ छुट्ट्याइएको थियो ।
    वातावरण, सचेतना तथा सञ्चारतर्फ विषादिरहित खाना सम्बन्धी सचेतनाका लागि आमा समूह परिचालनमा ४० हजार रुपैयाँ, मुख्य मुख्य बालीहरूको क्रप कटिङका लागि ४० हजार रुपैयाँ र एफएम रेडियोमार्फत सूचना प्रवाहका लागि ४० हजार रुपैयाँ विनियोजन गरिएको छ। त्यसैगरी उत्कृष्ट कृषक सम्मानका लागि २५ हजार रुपैयाँ, वार्षिक प्रगति प्रतिवेदन तथा तथ्याङ्क पुस्तिका प्रकाशनका लागि २५ हजार रुपैयाँ र स्थानीय बजारमा कृषि वस्तुको पाक्षिक खुद्रा मूल्य संकलन (२४ पटक) का लागि १२ हजार रुपैयाँ बजेट कायम गरिएको थियो  ।