शनिबार, ९ श्रावण, २०८३ (1784657700)
बुधबार श्रावण ६, २०८३

बीपी स्मृति दिवसमा क्यान्सर पीडित बालक संविद्धलाई २५ हजार आर्थिक सहयोग

    सोलुखुम्बु — ४४औँ बीपी स्मृति दिवसको अवसर पारेर सोलुखुम्बुमा एक क्यान्सर पीडित नाबालकलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। नेपाल तरुण दल जिल्ला कार्यसमिति, सोलुखुम्बुको समन्वयमा संकलन गरिएको २५ हजार रुपैयाँ सहयोग रकम बिरामीका बुवा सौरभ बरुवाललाई उहाँकै निवासमा पुगेर हस्तान्तरण गरिएको हो।

    रक्त क्यान्सरबाट पीडित १७ महिनाका नाबालक संविद्ध बरुवालको उपचारमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम संकलन गरिएको थियो। बालकको उपचार लामो समयसम्म चल्ने र किमोथेरापी, नियमित जाँच तथा औषधि उपचारमा ठूलो खर्च लाग्ने भएकाले परिवारले सहयोगको अपिल गर्दै आएको छ।
   उक्त पुण्य कार्यका लागि विभिन्न व्यक्ति तथा संस्थाहरूबाट आर्थिक सहयोग प्राप्त भएको थियो। मलेसिया जनसम्पर्क समितिका महामन्त्री सरोज दाहाल र खोटाङका समाजसेवी तथा व्यवसायी सचिन्द्र सिंह ठकुरीले जनही १०÷१० हजार रुपैयाँ तथा नेपाल तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष एवं व्यवसायी संजय लामाले ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउनुभएको थियो।
    प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले देखाउनुभएको मानवता, सेवा र सामाजिक उत्तरदायित्वको आदर्शलाई व्यवहारमा उतार्ने सानो प्रयास स्वरूप यो सहयोग हस्तान्तरण गरिएको आयोजकले जनाएका छन्। सहयोगी हातहरूप्रति हार्दिक आभार व्यक्त गर्दै सानो सहयोगले पनि नानीको जीवन बचाउन र परिवारमा ठूलो आशा जगाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।