सोलुखुम्बुमा खेलाडी छनोट सुरु, उपस्थिति भने न्यून
सोलुखुम्बुः १०औँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत कोशी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुनका लागि सोलुखुम्बु जिल्लामा जिल्लास्तरीय खेलाडी छनोट प्रक्रिया सदरमुकाम सल्लेरीमा सुरु भएको छ । प्रतियोगिताको तयारी र हालसम्मको माहोलका विषयमा जिल्ला खेलकूद विकास समिति सोलुखुम्बुका अध्यक्ष अर्जुनबहादुर रोक्कासँग कुराकानी गरिएको छ।
अध्यक्ष रोक्काका अनुसार १०औँ राष्ट्रिय खेलकूदको मिति पटक–पटक सर्दै गएका कारण यसपटक खेलाडीहरूमा सोचेजस्तो उत्साह र सहभागिता देखिएको छैन। चालु महिनाभित्रै छनोट प्रक्रिया पूरा गरेर प्रदेशमा खेलाडीको सूची पठाइसक्नुपर्ने बाध्यता रहेको छ। साथै, हाल चाडपर्वको समय हुनुका साथै पर्यटकीय सिजनसमेत परेकाले अपेक्षा गरिएअनुसार खेलाडीहरूको उपस्थिति हुन सकेको छैन।
छनोट प्रक्रिया जिल्लाका कुनै खास पालिकामा मात्र सीमित नरही जिल्ला खेलकूद विकास समितिमा फारम भरेका जुनसुकै गाउँपालिकाका खेलाडीहरूबाट भइरहेको छ । जिल्लाबाट १६ वटा खेल विधामा छनोट प्रक्रिया अगाडि बढाइएको छ । जसमा फुटबल, भलिबल, एथलेटिक्स, कराँते, तेक्वान्दो, उसु, कबड्डी, ब्याडमिन्टन, आर्चरी, टेबलटेनिस, बुद्धिचाल, फुलकन्ट्याक्ट कराँते काता, जुडो, स्क्वास र पौडी समावेश छन्।
हालसम्म भलिबलबाहेक अन्य अधिकांश खेलको छनोट प्रक्रिया सम्पन्न भइसकेको छ। छनोटका क्रममा धेरै खेलहरूमा खेलाडीको उपस्थिति निकै कम रहेको छ । एथलेटिक्सतर्फ १० वटा कोटा रहेकोमा जम्मा १० जना मात्रै उपस्थित भएकाले उनीहरूलाई नै पठाउनुपर्ने स्थिति बनेको छ। त्यसैगरी भलिबलमा पुरुषतर्फ ४२ जनाले फारम भरेकोमा जम्मा १८–१९ जना र महिलातर्फ २१ जनाले फारम भरेकोमा केवल १४ जना मात्र उपस्थित भएका छन्। यस्ता विभिन्न चुनौती र सीमित उपस्थितिका बाबजुद जिल्ला खेलकूद विकास समिति सोलुखुम्बुले छनोट कार्यलाई निरन्तरता दिँदै सम्पन्न गरिरहेको छ।
2026-10-14-07-30-01.jpeg)



2026-10-14-07-49-47.jpeg)
2026-10-16-05-32-28.jpeg)
