सोमबार, ३ कार्तिक, २०८३ (1791828900)
मंगलबार असोज २७, २०८३

 “बालमैत्री वडा घोषणाले बालबालिकाको भविष्य उज्यालो बनाउँछः सोलुदुधकुण्ड–४ का स्थानीय“

   सोलुखुम्बुः सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको अवसरमा स्थानीय अभिभावक तथा बासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। बालमैत्री स्थानीय शासन घोषणा भएपश्चात वडाका बालबालिकामाथि हुने विभिन्न प्रकारका हिंसा, बालविवाह, मदिरा तथा मादक पदार्थ सेवन जस्ता कुरीतिहरू न्युनिकरण हुने र बालबालिकाको अधिकार तथा सुरक्षित शिक्षाका क्षेत्रमा यो ऐतिहासिक कदम बन्ने विश्वास स्थानीयले व्यक्त गरेका छन्। 
  वडामा बालमैत्री घोषणा गरिएसँगै बालबालिकाको भविष्य उज्ज्वल हुने, उनीहरूमा सकारात्मक परिवर्तन आउने तथा अभिभावकहरू पनि थप सचेत र जिम्मेवार बन्ने अपेक्षा गरिएको छ।  यसअघि पनि वडामा यस्ता राम्रा अभ्यासहरू केही हदसम्म भए पनि यसपटक औपचारिक रूपमा बालमैत्री घोषणा गरिएपछि यसले व्यापकता पाउने र सम्पूर्ण बालबालिका, शिक्षक, विद्यालय तथा समुदायमा सकारात्मक सन्देश जाने स्थानीयको भनाइ छ। 
   विशेष गरी बालबालिकाको शिक्षा, स्वास्थ्य र उनीहरूको चौतर्फी विकासका लागि यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने अभिभावकहरुले  उल्लेख गरेका छन् । साथै, वडावासीहरूले बालबालिकालाई बालविवाहबाट टाढा राख्न, उनीहरूलाई सानै उमेरमा श्रममा लगाउने वा विवाह गरिदिने गलत चलनलाई सदाका लागि अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। विद्यालय र शिक्षाको महत्व बुझेर बालबालिकालाई नियमित रूपमा पठनपाठनमा सहभागी गराउन अभिभावकहरू स्वयं सचेत बन्नुपर्ने र यसका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको कुरा उनीहरुले व्यक्त गरेका छन् ।