दशैंको रौनक बढेसँग पशु हाटमा चहलपहल
सोलुखुम्बुः दशैंको रौनक बढेसँगै सदरमुकाम सल्लेरीस्थित नयाँ बजारमा लागेको अन्तिम शनिवारीय हाटबजारमा खसीबोका र कुखुराको व्यापार बढेको छ। दशैंलाई लक्षित गरी बजारमा खसीबोका तथा कुखुरा बिक्रीका लागि ल्याइएसँगै बजारमा चहलपहल बढेको हो।
हाटबजारमा खसीबोका तथा कुखुरा बिक्रीका लागि ल्याएका व्यापारीहरूका अनुसार दशैंको समय भएकाले खसीबोका र भालेको माग राम्रो रहेको छ । बजारमा करिब १५ देखि २० वटासम्म खसीबोका तथा कुखुरा बिक्रीका लागि राखिएका थिए। अघिल्ला साताको तुलनामा यसपटक बजारमा ग्राहकको चहलपहल बढ्नुका साथै खसीबोकाको मूल्यमा समेत वृद्धि भएको देखिएको थियो ।
बजारमा हाल १७ देखि १८ केजी तौल भएका खसीको मूल्य करिब १७ देखि १८ हजार रुपैयाँसम्म पर्ने गरेको छ। गत वर्षको दशैंमा सोही तौलका खसी १४ देखि १५ हजार रुपैयाँसम्ममा पाइने गरेको स्थानीय उपभोक्ताहरू बताउँछन्। यस वर्ष काठमाडौंका व्यापारीहरूले बाहिरबाटै धेरै खसी खरिद गरेका कारण तथा जिउँदो खसीको मूल्य प्रतिकेजी ७०० देखि ८०० रुपैयाँसम्म पुगेकाले मूल्य बढेको उनीहरूको भनाइ छ।
हाटबजारमा खसी खरिद गर्न आएका एक स्थानीयका अनुसार यसपटक दशैंका लागि खसी किन्दा विगतका वर्षको तुलनामा बढी रकम खर्च गर्नुपरेको छ। मूल्य केही महँगो भए पनि जिउँदो खसी किनेर घरमै काट्दा ताजा र सफा मासु उपभोग गर्न पाइने भएकाले उपभोक्ताले यसलाई फाइदाजनक मानेका छन्।
यसैबीच, सल्लेरी बजारमा खसी बिक्रीका लागि ल्याएका व्यापारी मङ्गले तमाङले खसीपालन तथा बिक्री आफ्नो नियमित व्यवसाय रहेको बताउनुभएको छ । उहाँले एउटा जोडी खसी ३६ हजार रुपैयाँमा र अन्य खसीहरू ३४ हजार रुपैयाँसम्ममा बिक्री गरेको जानकारी दिनुभयो ।
तमाङका अनुसार खसीलाई करिब एक वर्षदेखि १८ महिनासम्म घरमै घाँस र दाना खुवाएर पाल्ने गरिन्छ। खसीपालनका लागि धेरै मेहनत र खर्च गर्नुपर्ने भए पनि वर्षमा एक–दुई पटक राम्रो आम्दानी हुने गरेको उहाँको अनुभव छ। तर, व्यापारमा सधैँ नाफा नहुने र कहिलेकाहीँ घाटासमेत व्यहोर्नुपर्ने उहाँले बताउनुभयो । दशैंको रौनकसगैँ सल्लेरीको नयाँ बजारमा लागेको अन्तिम शनिवारीय हाटबजारमा खसीबोकाको माग र मूल्य दुवै बढेको थियो ।
2026-10-16-10-17-18.jpeg)

2026-10-09-08-52-42.jpeg)


2026-10-14-07-49-47.jpeg)
2026-10-16-05-32-28.jpeg)
