चाडपर्वका बेला सुरक्षा सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अपिल
सोलुखुम्बु— जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले आसन्न दसैँ, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै सर्वसाधारण नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। चाडपर्वका बेला चोरी, दुर्घटना तथा सम्भावित आपराधिक गतिविधि हुन नदिन प्रहरीले सुरक्षा सावधानीलाई पहिलो प्राथमिकता दिन आग्रह गरेको हो।
चाडपर्वको अवसरमा घर छाडेर बाहिर वा कतै जाँदा ढोका, झ्याल तथा ताल्चा राम्रोसँग बन्द गर्न र नगद तथा गरगहना सुरक्षित साथ राख्न प्रहरीले अनुरोध गरेको छ । पर्वका बेला जुवातास खेल्ने, झैझगडा गर्ने, घरेलु हिंसा तथा शान्ति सुरक्षामा खलल पु¥याउने गतिविधिबाट टाढा रहन र बालबालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न भनिएको छ। समाजमा कुनै पनि शङ्कास्पद गतिविधि वा अप्रिय घटना देखिएमा नजिकको प्रहरी कार्यालयमा तत्काल खबर गर्न पनि नागरिकहरूलाई आग्रह गरिएको छ।
यस्तै, सवारी साधन प्रयोग गर्दा ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन र क्षमताभन्दा बढी यात्रु नराख्न सचेत गराइएको छ । सवारी चालक तथा पछाडि बस्ने यात्रुले अनिवार्य रूपमा हेल्मेट तथा चारपाङ्ग्रे सवारीमा सिटबेल्टको प्रयोग गर्न जोड दिइएको छ । यसका साथै मैनबत्ती, दियो तथा विद्युतीय उपकरणबाट हुन सक्ने सम्भावित आगलागीप्रति विशेष सावधानी अपनाउन र पटाका वा विष्फोटक पदार्थको प्रयोग नगर्न अनुरोध गरिएको छ।
प्रहरी र नागरिकबीचको सहकार्यबाट मात्रै सुरक्षित समाजको निर्माण सम्भव हुने बताउँदै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले शान्ति सुरक्षा कायम राख्न आफूहरू सधैँ प्रतिबद्ध रहेको जनाएको छ। “आफू पनि सुरक्षित रहौँ, अरूलाई पनि सुरक्षित राखौँ“ भन्ने मूल नाराका साथ प्रहरीले बडादसैँ, शुभ दीपावली तथा छठ पर्व २०८३ को अवसरमा सम्पूर्ण जिल्लाबासीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गरेको छ।
ताजा खबर
सबै- प्रमुख अतिथि छनोटमा विवाद भएपछि ह्वाइट हिल्स स्कुलद्वारा क्षमायाचना
- चाडपर्वका बेला सुरक्षा सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अपिल
- १० औँ राष्ट्रिय खेलकुदका लागि सोलुखुम्बुमा जिल्लास्तरीय छनोट प्रतियोगिता हुने
- दसैँ सुरु भएसँगै सदरमुकाम सल्लेरीमा बढ्यो चहलपहल
- उपभोग्य वस्तु खरिदमा सजग रहन सोलुखुम्बुवासीलाई अपिल




2026-10-09-08-52-42.jpeg)
2026-10-12-03-58-15.jpeg)

