सोमबार, ३ कार्तिक, २०८३ (1792260900)
आइतबार कार्तिक २, २०८३

  सोलुखुम्बुमा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७ सवारीसाधन कारबाहीमा

   सोलुखुम्बु — जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले गत असोज महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७ वटा सवारीसाधनलाई कारबाही गर्दै ७१ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
  कार्यालयका अनुसार असोज महिनाभरि नियमित तथा विशेष सवारी चेकजाँचका क्रममा विभिन्न ट्राफिक नियम उल्लङ्घन गरेका सवारीसाधनलाई कारबाहीको दायरामा ल्याइएको हो। ट्राफिक नियमको पालना गराउने, सवारी दुर्घटना न्यूनीकरण गर्ने तथा सडक यात्रालाई सुरक्षित बनाउने उद्देश्यले चेकजाँचलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ।
   कार्यालयको तथ्याङ्कअनुसार असोज महिनामा ट्रक दुईवटाबाट ४ हजार रुपैयाँ, जिप ३९ वटाबाट ३६ हजार रुपैयाँ, ट्र्याक्टर चारवटाबाट ३ हजार रुपैयाँ, मोटरसाइकल २१ वटाबाट २५ हजार ५ सय रुपैयाँ र टेम्पो एउटाबाट २ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ। यस अवधिमा ट्राफिक प्रहरीले कुल १ हजार २ सय २४ वटा सवारीसाधनको चेकजाँच गरेको थियो । त्यस्तै, मादक पदार्थ सेवन (मापसे) गरे नगरेको सम्बन्धमा ४ सय २७ जनाको जाँच गरिएको कार्यालयले जनाएको छ।
  सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यालयले असोज महिनामा विभिन्न तीन स्थानमा सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको थियो। उक्त कार्यक्रममा जिप, बस तथा ट्र्याक्टरका चालक र सहचालकसहित विभिन्न यातायातकर्मीको सहभागिता रहेको थियो। सचेतनामूलक कार्यक्रमबाट ६ जना महिला र ४१ जना पुरुष गरी कुल ४७ जना प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
   जिल्लामा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, सवारी दुर्घटनामा कमी ल्याउने तथा सुरक्षित यात्राको वातावरण निर्माण गर्ने उद्देश्यले चेकजाँच, कारबाही र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।