सोमबार, ३ कार्तिक, २०८३ (1792260900)
आइतबार कार्तिक २, २०८३

सल्लेरीमा युवा पलायनले ग्राहक घटेको कपडा व्यवसायीको गुनासो

   सोलुखुम्बुः  सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा दसैँको रौनक सुरु भएसगैँ  कपडा पसलहरूमा ग्राहकको चहलपहल बढेको छ । चाडपर्वलाई लक्षित गरी सर्वसाधारणले नयाँ लत्ताकपडा तथा घरायसी सामग्री किनमेल गर्न थालेपछि बजारमा व्यापारिक गतिविधि बढेको हो। यद्यपि, विगतका वर्षहरूको तुलनामा व्यापारको अवस्था भने मिश्रित रहेको व्यवसायीहरूले बताएका छन्।
    सल्लेरीका कपडा व्यवसायी मनि कुमार राईका अनुसार दसैँको अवसरमा सबै उमेर समूहका ग्राहकहरू कपडा किन्न पसलमा आउने गरेका छन्। तर, विगतको तुलनामा अहिले सदरमुकाम आउने ग्राहकको सङ्ख्या घट्दै गएको उहाँको भनाइ छ । ग्रामीण क्षेत्रमा सडक तथा अन्य सेवा–सुविधाको विस्तार हुनु र युवायुवतीहरू रोजगारी तथा अध्ययनका लागि विदेश र सहरतर्फ जानुले गाउँमा जनसङ्ख्या घट्नु यसको प्रमुख कारण रहेको उहाँले बताउनुभयो। सहरबाट कपडा ढुवानी गर्दा भाडा बढ्नु र समयमै सामान नआइपुग्नुले पनि व्यवसायमा केही कठिनाइ थपिएको उहाँको भनाइ छ।
   यता, वसन्त बजारका कपडा व्यापारी विवेककुमार दासले भने दसैँ र तिहारका कारण यस वर्ष कपडाको व्यापार राम्रो भइरहेको बताउनुभएको छ। उहाँका अनुसार गत वर्षको तुलनामा यस वर्ष व्यापारमा १५ देखि २० प्रतिशतसम्म वृद्धि भएको छ। ग्राहकको मागलाई ध्यानमा राख्दै साना बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि आवश्यक पर्ने लत्ताकपडा, सिरक, डसना तथा ब्ल्यांकेटलगायतका सामग्री पर्याप्त मात्रामा उपलब्ध गराइएको उहाँले बताउनुभयो।
   त्यस्तै, कपडा व्यापारी शिव कार्कीले दसैँका बेला व्यापार सामान्य रहे पनि बालबालिकाका कपडाको बिक्री बढी भइरहेको बताउनुभयो। उहाँका अनुसार दसैँको समयमा बिक्रीमा करिब ८० प्रतिशतसम्म वृद्धि भएको छ। साथै, बाढीका कारण ढुवानीमा समस्या आउनु र भाडा बढ्नुले कपडाको मूल्यसमेत वृद्धि भएको उहाँले बताउनुभयो।
  अर्का कपडा व्यापारी नारदमणि राईले भने चाडपर्वको समयमा पनि व्यापार अपेक्षाअनुसार हुन नसकेको बताउनुभयो। युवायुवतीहरू रोजगारी तथा अध्ययनका लागि विदेश जाने क्रम बढेकाले गाउँमा ग्राहकको सङ्ख्या घट्दै गएको उहाँको भनाइ छ। व्यवसायीहरूका अनुसार ग्राहकलाई आकर्षित गर्न पसलहरूले कपडामा १५ प्रतिशतसम्म छुटसमेत दिइरहेका छन्। ढुवानी खर्च र कपडाको मूल्यमा वृद्धि भए पनि ग्राहकलाई सहज मूल्यमा सामान उपलब्ध गराउने प्रयास भइरहेको उनीहरूले बताएका छन्।
   समग्रमा, दसैँ र तिहारका कारण सल्लेरी बजारमा कपडा किनमेलको चहलपहल बढे पनि व्यापारको अवस्था सबै व्यवसायीका लागि समान छैन। केही व्यापारीले गत वर्षको तुलनामा व्यापार बढेको बताएका छन् भने केहीले ग्राहक घटेकाले व्यापार सामान्य रहेको बताएका छन्। ग्रामीण क्षेत्रमा सेवा–सुविधाको विस्तार, युवायुवतीको विदेश पलायन र बढ्दो ढुवानी खर्चलाई व्यवसायीहरूले व्यापारमा प्रभाव पार्ने प्रमुख कारणका रूपमा औँल्याएका छन्।