रसुवाको बाढीमा बेपत्ता सोलुदुधकुण्ड–४ का नागरिकको विवरण संकलन
सोलुखुम्बुः रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण बेपत्ता भएका सोलुदुधकुण्ड नगरपालिका–४ का नागरिकहरूको आधिकारिक विवरण पहिचान तथा यकिन गर्न वडा कार्यालयले प्रक्रिया अघि बढाएको छ।
सोलुदुधकुण्ड नगरपालिका वडा नं. ४ को स्थायी ठेगाना भएका तर हालसम्म बेपत्ता रहेका नागरिकहरूको विवरण संकलन गरी आधिकारिक अभिलेख तयार गर्ने उद्देश्यले वडा कार्यालय फाप्लुले सूचना जारी गरेको हो। कार्यालयले विपद्मा परी बेपत्ता भएका वडावासी नागरिकका एकाघरका परिवारका सदस्य वा नजिकका नातेदारलाई सूचना प्रकाशित भएको मितिले पाँच दिनभित्र आवश्यक कागजातसहित आधिकारिक रूपमा निवेदन पेस गर्न अनुरोध गरेको छ।
वडा कार्यालयका अनुसार निवेदन पेस गर्दा निवेदक र बेपत्ता व्यक्तिबीचको कानुनी सम्बन्ध पुष्टि हुने नाता प्रमाणपत्रको प्रतिलिपि, बेपत्ता व्यक्तिको नेपाली नागरिकताको प्रतिलिपि तथा निवेदकको नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। बेपत्ता व्यक्तिको नागरिकता नभएको अवस्थामा राहदानी, जन्मदर्ता वा मतदाता परिचयपत्रजस्ता आधिकारिक सरकारी कागजात पेस गर्न सकिने जनाइएको छ।
बेपत्ता नागरिकहरूको वास्तविक विवरण पहिचान तथा यकिन गरी आधिकारिक अभिलेख तयार गर्न परिवारका सदस्य तथा नजिकका नातेदारलाई तोकिएको समयभित्र आवश्यक कागजातसहित वडा कार्यालयमा निवेदन पेस गर्न कार्यालयले आग्रह गरेको छ।


2026-10-17-10-48-55.jpeg)


2026-10-14-07-49-47.jpeg)
2026-10-16-05-32-28.jpeg)
