मंगलबार, २७ असोज, २०८३ (1791742500)
सोमबार असोज २६, २०८३

 माउन्ट एभरेस्ट इङ्लिस सेकेन्डरी स्कुलको स्पोट्र्स विक सम्पन्न

    सोलुखुम्बुः माउन्ट एभरेस्ट इङ्लिस सेकेन्डरी स्कुलको स्पोट्र्स विक (खेलकुद सप्ताह) सम्पन्न भएको छ। मन्टेश्वरी तहदेखि कक्षा १० सम्मका करिब ३०० विद्यार्थीको सहभागिता रहेको खेलकुद सप्ताहमा विभिन्न ६० वटा खेलकुद तथा अन्य कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ।
   खेलकुद सप्ताहको सुरुवात आकर्षक मार्चपास प्रदर्शनबाट गरिएको थियो। मार्चपासमा उत्कृष्ट प्रदर्शन गर्दै निलो हाउस (ब्लु हाउस) ले ट्रफी जित्न सफल भएको विद्यालयका प्रधानाध्यापक दिवस मुखियाले जानकारी दिनुभयो। खेलकुद सप्ताहका क्रममा विभिन्न रोमाञ्चक खेल प्रतियोगिताका साथै सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो।
   प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको जुनियर एकलतर्फ छात्र विधामा पहेँलो हाउसका उज्ज्वल बस्नेत प्रथम हुनुभयो भने हरियो हाउसका रियान मगर दोस्रो र रिदम मगर तेस्रो हुनुभयो। जुनियर छात्रातर्फ सुभेक्षा राई प्रथम, रेनुका मगर दोस्रो र लाक्पा छिरि शेर्पा तेस्रो हुनुभयो।

त्यस्तै, सिनियर एकल ब्याडमिन्टनको छात्रातर्फ रातो हाउसकी सुभेक्षा राजभण्डारी प्रथम, पहेँलो हाउसकी दीक्षा राई दोस्रो र निलो हाउसकी सेम्ब्रिका श्रेष्ठ तेस्रो हुनुभयो। सिनियर छात्रतर्फ सञ्जीव साक्य प्रथम, तुङसाङ राई दोस्रो र मिसन तामाङ तेस्रो हुन सफल हुनुभयो।
  भलिबल प्रतियोगिताको छात्रातर्फ रातो हाउस प्रथम, पहेँलो हाउस दोस्रो र हरियो हाउस तेस्रो भयो। छात्रतर्फ भने हरियो हाउस प्रथम, पहेँलो हाउस दोस्रो र निलो हाउस तेस्रो स्थान हासिल गर्न सफल भए।यसैगरी, कबड्डी प्रतियोगिताको छात्रतर्फ पहेँलो हाउस प्रथम, निलो हाउस दोस्रो र हरियो हाउस तेस्रो भयो। छात्रातर्फ पनि पहेँलो हाउसले प्रथम स्थान हासिल गर्दा रातो हाउस दोस्रो र हरियो हाउस तेस्रो भयो। म्याराथनलगायत अन्य विभिन्न विधाका प्रतियोगितामा विजयी खेलाडीलाई समेत पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ।
   खेलकुद सप्ताहको अन्तिम दिन प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठ तथा योङ स्टार क्लबका सचिव मनोजकुमार श्रेष्ठको उपस्थिति रहेको थियो। उनीहरूको आतिथ्यतामा विभिन्न प्रतियोगितामा विजयी तथा उत्कृष्ट स्थान हासिल गर्ने खेलाडी र टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो। विद्यालयले आयोजना गरेको खेलकुद सप्ताहले विद्यार्थीमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै अनुशासन, आपसी सहकार्य र प्रतिस्पर्धात्मक भावनाको विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।