मंगलबार, २० असोज, २०८३ (1791137700)
सोमबार असोज १९, २०८३

पर्यटकीय सिजन सुरु भएसँगै रामेछापको मन्थली विमानस्थलबाट लुक्लाका लागि हवाई उडान बढ्दै

    सोलुखुम्बुः  सगरमाथा क्षेत्रको भ्रमणमा आउने पर्यटकको चाप बढेसँगै रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लातर्फ हुने हवाई उडानको सङ्ख्यामा तीव्र वृद्धि भएको छ। शरद ऋतुको पर्यटकीय सिजन सुरु भएसँगै गत असोज १३ गतेदेखि मन्थली–लुक्ला रुटमा उडान सुरु गरिएको नागरिक उड्डयन कार्यालय, मन्थलीले जनाएको छ।
   नागरिक उड्डयन कार्यालय मन्थलीका प्रमुख अमित चौरसियाका अनुसार पर्यटकीय सिजनको सुरुवातमा उडान सङ्ख्या केही कम रहे पनि पछिल्ला दिनमा दैनिक रूपमा क्रमशः बढ्दै गएको छ। शनिबार मात्रै मन्थलीबाट लुक्लाका लागि ९ वटाभन्दा बढी उडान सम्पन्न भएका छन्। सगरमाथा क्षेत्रको पदयात्रा तथा हिमाली पर्यटनका लागि आउने विदेशी पर्यटकलाई लक्षित गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले पर्यटकीय सिजनमा मन्थली विमानस्थललाई लुक्ला जाने मुख्य हवाई प्रवेशद्वारका रूपमा प्रयोग गर्दै आएको छ।
    शरद ऋतुअन्तर्गत असोजदेखि मङ्सिर १५ सम्म र वसन्त ऋतुमा चैतदेखि जेठसम्म मन्थली–लुक्ला रुटमा नियमित उडान सञ्चालन हुने गर्दछ। हाल उक्त रुटमा तारा, समिट र सीता एयरले हवाई सेवा प्रदान गर्दै आएका छन्। मौसम अनुकूल भई बिहानैदेखि उडान सञ्चालन हुन सकेको खण्डमा एकै दिन ६० वटाभन्दा बढी उडान हुने गरेका छन्। नागरिक उड्डयन कार्यालयको तथ्याङ्कअनुसार ती उडानमार्फत दैनिक करिब आठ सय ५० जनासम्म पर्यटक लुक्ला आउने गरेका छन्। यो सिजन पूर्ण रूपमा सक्रिय हुँदै जाँदा गत वर्षको तुलनामा उडानको चाप अझै बढ्ने अपेक्षा कार्यालय प्रमुख चौरसियाले व्यक्त गर्नुभएको छ।
   लुक्ला आउने पर्यटकको चापसँगै मन्थली विमानस्थलमा हवाई गतिविधि बढिरहेका बेला काठमाडौँ–रामेछाप नियमित हवाई सेवा सञ्चालन गर्ने तयारीसमेत गरिएको छ। चाडबाडको समयमा रामेछाप जिल्लाबाट काठमाडौँ आउजाउ गर्ने यात्रुलाई सहज बनाउन निजी वायुसेवा कम्पनीहरूले सातामा एक–एक उडान गर्ने तालिका सार्वजनिक गरेका हुन्।
   कार्यालय प्रमुख चौरसियाका अनुसार समिट एयरले हरेक बिहीबार, सीता एयरले शुक्रबार र तारा एयरले शनिबार काठमाडौँ–रामेछाप र रामेछाप–काठमाडौँ उडान गर्ने तालिका तय गरेका छन्। उक्त तालिका अक्टोबर १ अर्थात् असोज १५ देखि लागू हुने गरी सार्वजनिक गरिए पनि रामेछापका स्थानीय यात्रुले भने असोज २२ गतेदेखि मात्र यो सेवा लिन पाउने उहाँले जानकारी दिनुभएको छ। 
   पर्यटकीय सिजनमा लुक्ला जाने पर्यटकका कारण व्यस्त हुने मन्थली विमानस्थलबाट स्थानीयका लागि समेत हवाई सेवा सञ्चालन हुँदा रामेछापवासीलाई काठमाडौँ आउजाउमा ठूलो राहत पुग्ने विश्वास लिइएको छ। यद्यपि, सातामा तीन दिन प्रस्ताव गरिएको यो उडान नियमित रूपमा सञ्चालन हुने वा नहुने भन्ने विषय यात्रुको माग र बुकिङको अवस्थामा निर्भर रहने उहाँले स्पष्ट पार्नुभएको छ।