आइतबार, १८ असोज, २०८३ (1790705700)
बुधबार असोज १४, २०८३

सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

    सोलुखुम्बुः   सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्यटकीय सिजन सुरु भएसँगै पर्यटकको चहलपहल बढ्न थालेको छ। निकुञ्ज कार्यालयका अनुसार असोज १ गतेदेखि ११ गतेसम्म ३ हजार ४४ जना पर्यटक सगरमाथा क्षेत्रमा प्रवेश गरेका छन्। सोही अवधिमा १ हजार २७ जना पर्यटक तथा उनीहरूलाई सहयोग गर्ने गाइड र पोटर क्षेत्रबाट बाहिरिएका छन्।
   निकुञ्जको तथ्यांकअनुसार ११ दिनमा सगरमाथा क्षेत्र प्रवेश गर्नेमा विदेशी पर्यटकको संख्या सबैभन्दा धेरै छ । यस अवधिमा १ हजार ६ सय २४ जना विदेशी पर्यटक, ७६ जना सार्क राष्ट्रका पर्यटक र ६० जना नेपाली पर्यटकले सगरमाथा क्षेत्र प्रवेश गरेका छन्। पर्यटकलाई सहयोग गर्न सोही अवधिमा ३ सय ४० जना गाइड र ६ सय ९९ जना पोटर पनि सगरमाथा क्षेत्रमा प्रवेश गरेका छन्।
   यस्तै, असोज १ गतेदेखि ११ गतेसम्म ४ सय ९० जना विदेशी पर्यटक, १७ जना सार्क राष्ट्रका पर्यटक र २४ जना नेपाली पर्यटक सगरमाथा क्षेत्रबाट बाहिरिएका छन्। यसका साथै १ सय ३३ जना गाइड र १ सय ९७ जना पोटर पनि आफ्नो काम सकेर क्षेत्रबाट फर्किएका छन्।
   दैनिक आवागमनको तथ्यांक हेर्दा असोज ५ गते सबैभन्दा धेरै ५ सय १२ जना र असोज ८ गते ५ सय ३ जना पर्यटक सगरमाथा क्षेत्रमा प्रवेश गरेका थिए। त्यस्तै, असोज ८ गते नै सबैभन्दा धेरै २ सय ७२ जना पर्यटक सगरमाथा क्षेत्रबाट बाहिरिएको निकुञ्ज कार्यालयले जनाएको छ। पर्यटकीय सिजन सुरु भएसँगै सगरमाथा क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएपछि खुम्बु क्षेत्रका पर्यटन व्यवसायी तथा स्थानीयमा पनि चहलपहल बढेको छ। केही दिनअघि मौसममा खराबी आएको भए पनि पुनः मौसममा सुधार आएकाले व्यवसायी खुसी भएका छन् । 
    मौसम सुरुसँगै पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायतका ठाउँमा रहेका होटलमा पनि चहलपहल सुरु भएको छ । अनुकूल मौसम हुँदा काठमाडौँ तथा रामेछापको मन्थली विमानस्थलबाट दैनिक सयौँ पर्यटक लुक्ला हुँदै निकुञ्ज प्रवेश गरिरहेका छन्। यद्यपि, मौसम प्रतिकूल हुँदा सोही पर्यटकहरू वैकल्पिक मार्ग रोज्दै काठमाडौँबाट जिप चढेर सल्लेरी हुँदै सुर्केसम्मको यात्रा गरिरहेको यातयात व्यवसायीहरू बताउछन् ।