मंगलबार, २० असोज, २०८३ (1791137700)
सोमबार असोज १९, २०८३

देउवा पक्षद्वारा सोलुखुम्बु संयोजक तोकिएका शुभराम बस्नेत १५औँ महाधिवेशनमा

    सोलुखुम्बुः   — नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएसँगै राजनीतिक वृत्तमा सरगर्मी बढेको छ। यसैबीच, १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक रहेको दाबी गर्दै समानान्तर गतिविधि गरिरहेको शेरबहादुर देउवा पक्षलाई ठूलो धक्का लागेको छ। 
   अधिकांश जिल्ला सभापतिहरूले संस्थापन पक्षको महाधिवेशनमा सहभागिता जनाएपछि देउवा पक्षले छुट्टै संयोजक तोकेर समानान्तर अधिवेशन अघि बढाएको थियो। तर, सोही क्रममा सोलुखुम्बुको संयोजक बनाइएका युवा नेता शुभराम बस्नेत भने संस्थापन पक्षको आधिकारिक १५औँ महाधिवेशनमै प्रतिनिधि बनेर सहभागी बन्नुभएको छ । 
   शंकरदेव क्याम्पसका पूर्व स्ववियु सभापति समेत रहेका बस्नेतलाई देउवा पक्षले सोलुखुम्बुको जिल्ला संयोजकको जिम्मेवारी सुम्पेको थियो। तथापि, उक्त जिम्मेवारीमा रहेर काम गर्नु उपयुक्त नठानेपछि उहाँले देउवा समूह छोडेर महाधिवेशनस्थल पुगेको स्पष्ट पार्नुभएको छ। महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले आफू केवल दर्शक बनेर वा साथीभाइ भेट्न मात्र नभई पूर्ण प्रतिनिधिको हैसियतमा महाधिवेशनमा भाग लिन पुगेको बताउनुभयो।
   देउवा निकट समूह त्याग्नुको विस्तृत कारण अहिले नै खोल्न नचाहे पनि उहाँले महाधिवेशनमा सहभागी हुनु आवश्यक ठानेर नै तोकिएको जिम्मेवारी त्यागेको उल्लेख गर्नुभयो। बाँकी विषयहरू समयक्रमसँगै स्वतः स्पष्ट हुँदै जाने उहाँको भनाइ थियो। समानान्तर अधिवेशनको संयोजक तोकिएका मुख्य व्यक्ति नै आधिकारिक महाधिवेशनमा प्रतिनिधि बनेर उपस्थित भएपछि देउवा पक्षको समानान्तर अभियानमा थप अन्योल सिर्जना भएको छ।