आइतबार, १८ असोज, २०८३ (1790878500)
शुक्रबार असोज १६, २०८३

सोलुखुम्बुका तीन स्थानमा यात्रु सहायता कक्ष, बिहान ५ बजे अघि सवारी चलाउन रोक

    सोलुखुम्बुः सोलुखुम्बुमा सवारी दुर्घटना न्यूनीकरण र चाडपर्वका बेला यात्रुहरूलाई सहज तथा सुरक्षित यात्रा गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालयले यात्रु सहायता कक्ष स्थापना गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख सरोज कुमार यादवका अनुसार हुलाक मोड, जोरबौद्ध र पत्ताले गरी तीन स्थानमा सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।  
   यात्राका क्रममा तोकिएको भन्दा बढी भाडा लिने, गन्तव्यमा नपु¥याई बिच बाटोमै छाड्ने वा अभद्र व्यवहार गर्ने जस्ता समस्या परेमा सहायता कक्ष वा प्रहरीलाई तत्काल खबर गर्न आग्रह गरिएको छ । यात्रुबाट गुनासो वा उजुरी प्राप्त हुनासाथ सम्बन्धित सवारी साधन र चालकलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने र असुल गरिएको बढी भाडा फिर्ता गराइने प्रहरी प्रमुख यादवले बताउनुभयो।  
   प्रहरीले नियमित चेकजाँचलाई तीव्र पारेको छ। सवारी चालकहरूलाई सिट क्षमताभन्दा बढी यात्रु नबोक्न, सवारी साधनमा अनिवार्य भाडादर लिस्ट राख्न र यात्रुहरूसँग शिष्ट व्यवहार गर्न अपिल गरिएको छ। साथै, सोलुखुम्बुबाट काठमाडौँका लागि छुट्ने सवारी साधनहरू बिहान ५ बजेभन्दा अगाडि गुडाउन नपाइने नियम लागू गरिएको छ ।