आइतबार, १८ असोज, २०८३ (1790878500)
शुक्रबार असोज १६, २०८३

 चेपेल आधारभूत विद्यालय घटनाको निष्पक्ष छानबिन गर्न शिक्षक संगठनको माग

     सोलुखुम्बुः सोलुखुम्बुको सोताङ गाउँपालिका–२ स्थित श्री चेपेल आधारभूत विद्यालयमा भएको घटनाप्रति नेपाल राष्ट्रिय शिक्षक संगठन, स्थानीय समिति सोताङ गाउँपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
   आज एक प्रेस विज्ञप्ती जारी गर्दै विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघको संयुक्त बैठकपछि उत्पन्न परिस्थितिबारे निष्पक्ष छानबिन गरी वास्तविक तथ्य सार्वजनिक गर्न माग गरेको छ।छानबिनबाट दोषी ठहरिने जो–कोहीलाई प्रचलित कानुन तथा नियमअनुसार आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायसमक्ष माग गरिएको विज्ञप्तीमा उल्लेख छ ।
    संगठनले विद्यालयजस्तो शान्त, मर्यादित र सुरक्षित शैक्षिक संस्थामा शिक्षक, विद्यार्थी, कर्मचारी, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघका पदाधिकारीमाथि कुनै पनि प्रकारको दुव्र्यवहार, अपमानजनक व्यवहार वा अशोभनीय गतिविधि हुनु दुःखद् र चिन्ताजनक विषय भएको जनाएको छ। यस्ता घटनाले विद्यालयको शैक्षिक वातावरण तथा नियमित पठनपाठनमा समेत प्रतिकूल असर पार्न सक्ने संगठनको भनाइ छ।
   संगठनले शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, अभिभावक तथा स्थानीय सरोकारवालाबीच आवश्यक संवाद, सहजीकरण र समन्वय गरी विद्यालयमा तत्काल शान्तिपूर्ण, सुरक्षित र मर्यादित वातावरण कायम गर्न स्थानीय सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।
    विद्यालय कुनै पनि व्यक्तिगत विवाद वा असमझदारीको केन्द्र बन्न नहुने भन्दै संगठनले विद्यार्थीको शिक्षा पाउने अधिकारलाई केन्द्रमा राखी सबै पक्षलाई संयमित हुन तथा संवाद र कानुनी प्रक्रियामार्फत समस्या समाधान गर्न अपिल गरीएको नेपाल राष्ट्रिय शिक्षक संगठन, स्थानीय समिति सोताङका सचिव युवक बस्नेतले जानकारी दिनुभयो ।