सगरमाथा क्षेत्रमा वर्षमा ६० हजार पर्यटक मात्रै, सम्भावना उपयोग हुन नसकेको अध्यक्ष शेर्पाको भनाइ
सोलुखुम्बुः नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले नेपालमा वर्षेनि हिमाल आरोहण, पदयात्रा, हिमाली क्षेत्रको प्राकृतिक सौन्दर्य तथा संस्कृति अवलोकनका लागि ठूलो सङ्ख्यामा विदेशी पर्यटक आउने गरे पनि हिमाली सम्पदाको तुलनामा पर्यटकको सङ्ख्या अझै न्यून रहेको बताउनुभएको छ। अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै उहाँले नेपालको पर्यटनको सबैभन्दा ठूलो आधार नै पर्वतीय पर्यटन भएको र हिमाल हेर्न, चढ्न वा हिउँलाई छोएर अनुभव गर्न चाहने मानिसहरू विश्वभर रहेकाले पर्वतीय पर्यटनले नेपालको पर्यटनमा सबैभन्दा ठूलो हिस्सा ओगटेको उल्लेख गर्नुभयो।
अध्यक्ष शेर्पाका अनुसार पूर्वमा कञ्चनजङ्घादेखि मकालु, ल्होत्से, सगरमाथा, चोयु, मनास्लु, अन्नपूर्ण, धौलागिरि हुँदै सुदूरपश्चिमको अपी र सैपालसम्म नेपालसँग ठूलो हिमाली सम्पदा भए पनि सोही अनुपातमा पर्वतीय क्षेत्रमा पर्यटक पुग्न नसकेको र यसको उचित प्रवद्र्धन हुन नसकेको बताउनुभयो।
उहाँले सगरमाथा क्षेत्रको सम्भावनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै कोङ्दे, थामे, गोक्यो र एभरेस्टजस्ता छुट्टाछुट्टै आकर्षक क्षेत्रहरू समेटिएको यति ठूलो क्षेत्रमा वर्षभरिमा करिब ६० हजार पर्यटक मात्र पुग्ने गरेको जानकारी दिनुभयो। फ्रान्सको मों ब्लाँ हिमालको फेदीमा रहेको सानो गाउँ श्यामोनीमा वर्षमा ५० देखि ६० लाख पर्यटक पुग्ने तथ्याङ्क उल्लेख गर्दै उहाँले सगरमाथा क्षेत्रमा आउने ६० हजार पर्यटकको सङ्ख्या एकदमै नगण्य भएको र नेपालले हिमाली क्षेत्रको सम्भावनालाई पर्याप्त रूपमा उपयोग गर्न नसकेको बताउनुभयो।
नेपालको पर्वतीय पर्यटन विकासमा सबैभन्दा ठूलो समस्या काठमाडौँ र सगरमाथाबीचको सडक तथा हवाई पहुँच (कनेक्टिभिटी) रहेको उहाँले औँल्याउनुभयो। भौगोलिक दूरी धेरै नभए पनि मौसमका कारण हवाई सेवा र हेलिकप्टर उडान प्रभावित हुने तथा सडकमार्फत जाँदा २० देखि २२ घण्टासम्म लाग्ने भएकाले हिमाली क्षेत्रमा पर्यटकलाई सहज रूपमा पु¥याउन सकिने यातायात र पूर्वाधार विकास नगरी पर्वतीय पर्यटनको वास्तविक सम्भावना उपयोग गर्न कठिन हुने उहाँको भनाइ छ।
साथै, पर्वतीय पर्यटनको विकास गर्दा वातावरण र हिमाली संस्कृतिको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा अध्यक्ष शेर्पाले जोड दिनुभयो। उहाँले हिमाली क्षेत्रमा निश्चित मापदण्ड बनाएर वातावरणमैत्री संरचना निर्माण गर्न सकिने बताउँदै सगरमाथा बेसक्याम्प र कालापत्थर क्षेत्रमा व्यवस्थित बसोबास, सरसफाइ तथा फोहोर व्यवस्थापनका पूर्वाधार निर्माण गरी ती ठाउँहरू सफा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
पर्वतीय पर्यटनलाई रोजगारी सिर्जनाको महत्त्वपूर्ण माध्यमका रूपमा प्रस्तुत गर्दै उहाँले पर्यटक आगमनले गाइड, होटल, यातायात, एयरलाइन्स, स्थानीय उत्पादनदेखि तल्लो स्तरका लज, टी–हाउस र पसलसम्म सबै क्षेत्रलाई फाइदा पुग्ने र यसले युवाहरूलाई देशमै रोजगारीको अवसर सुनिश्चित गर्ने बताउनुभयो।
हिमालको संरक्षण र पर्यटन विकासलाई सँगै लैजानुपर्ने धारणा राख्दै उहाँले पर्वतारोहण सङ्घले फोहोर व्यवस्थापन र शव व्यवस्थापनमा काम गरिरहेको जानकारी दिनुभयो। उहाँले ’गार्बेज फी’लाई व्यवस्थित रूपमा परिचालन गरी वातावरण संरक्षण तथा पर्वतीय क्षेत्रका श्रमिकको कल्याणका लागि छुट्टै कोष निर्माण गर्नुपर्ने सुझाव दिनुभयो। यसका साथै सरकारले आरोहण अनुमति जारी गर्दै आएका ४२३ वटा हिमालको रुट, बेसक्याम्प र भौगोलिक अवस्था समेटिएको प्रोफाइल तयार पार्न सङ्घले सहयोग गरिरहेको उहाँले बताउनुभयो।
ताजा खबर
सबै- सोलुखुम्बुका यातायात व्यवसायीले उठाए सडकदेखि भाडासम्मका सवाल
- फाप्लु अस्पतालमा ३१ जनाले लगाए रेबिजविरुद्धको खोप, ’इम्युनोग्लोबुलिन’ सेवा नहुँदा अन्यत्र प्रेषित गर्नुपर्ने बाध्यता
- सोलुखुम्बुमा स्व. देण्डी शेर्पाको स्मृतिमा खुला पुरुष भलिबल प्रतियोगिता हुने
- सोताङको चेपेल आधारभूत विद्यालय सोमबारदेखि पुनः सञ्चालन हुने
- चाडपर्वलाई लक्षित लुक्लामा बजार अनुगमन, ३ लाख बढिको अखाद्य वस्तु जफत


2026-09-30-07-57-36.jpeg)



2026-09-25-12-26-16.2026-09-30-08-36-07.jpeg)
