शुक्रबार, २९ श्रावण, २०८३ (1786126500)
शनिबार श्रावण २३, २०८३

खुम्बु पासाङ ल्हामु गाउँपालिकाद्वारा एकै वर्षमा ७१ करोडभन्दा बढी राजस्व संकलन

     सोलुखुम्बु — खुम्बु पासाङ ल्हामु गाउँपालिकाले एक वर्षको अवधिमा ७१ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। आर्थिक वर्ष २०८२÷८३ को अवधिमा गाउँपालिकाले  विभिन्न शीर्षकमा कुल ७१ करोड ९० लाख ७६ हजार ३ सय ४८ रुपैयाँ ७७ पैसा (७१,९०,७६,३४८.७७) राजस्व संकलन गरेको हो। गाउँपालिकाले वार्षिक अनुमानित आय ९३ करोड ६५ लाख ९६ हजार रुपैयाँ राखेकोमा सो परिमाणको रकम संकलन गर्न सफल भएको खुम्बु पासाङल्हामु गाउँपालिका लेखा अधिकृत चेतनाथ कटेलले जानकारी दिनुभयो। 
   गाउँपालिकाले सङ्घीय सरकार, प्रदेश सरकार, राजस्व बाँडफाँड तथा आन्तरिक स्रोतका विभिन्न शीर्षकहरूबाट उक्त राजस्व संकलन गरेको छ सङ्घीय सरकारबाट प्राप्त अनुदानतर्फ समानीकरण अनुदानबापत ९ करोड ४८ लाख २७ हजार ७  सय रुपैयाँ, सशर्त अनुदान चालुतर्फ १० करोड ५० लाख ४० हजार रुपैयाँ, सशर्त अनुदान पुँजीगततर्फ ९२ लाख रुपैयाँ तथा समपुरक अनुदान पुँजीगतबापत २ करोड २० लाख रुपैयाँ प्राप्त भएको छ। सङ्घीय सरकारको विशेष अनुदान पुँजीगततर्फ भने कुनै रकम प्राप्त भएको छैन। त्यसैगरी कोशी प्रदेश सरकारबाट प्राप्त अनुदानतर्फ समानीकरण अनुदानबापत ८६ लाख २० हजार रुपैयाँ, सशर्त अनुदान चालुतर्फ १६ लाख २० हजार रुपैयाँ र समपुरक अनुदान पुँजीगततर्फ १ करोड रुपैयाँ गाउँपालिकाको खातामा आम्दानी भएको छ।
    राजस्व बाँडफाँड शीर्षकअन्तर्गत प्रदेश सरकारबाट बाँडफाँड भई प्राप्त हुने सवारी साधन करबापत ५२ लाख ८३ हजार २७ रुपैयाँ ८३ पैसा र स्थानीय घरजग्गा रजिष्ट्रेशन दस्तुरबापत १८ लाख ६० हजार ४ १० रुपैयाँ ८० पैसा संकलन भएको छ। सङ्घीय सरकारबाट बाँडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि करबापत ७ करोड ९५ लाख २४ हजार ३ सय ७७ रुपैयाँ ७६ पैसा, अन्तःशुल्कबापत ३ करोड ४२ लाख ७ हजार १ सय ७ रुपैयाँ ६४ पैसा, वन रोयल्टीबापत ४ करोड २९ लाख ३५ हजार २ सय ७२ रुपैयाँ १७ पैसा तथा सबैभन्दा ठूलो हिस्सा ओगट्ने पर्वतारोहण आरोहण रोयल्टीबापत १४ करोड ६४ लाख ४७ हजार ६ सय २५ रुपैयाँ ९ पैसा राजस्व प्राप्त भएको छ।
   गाउँपालिकाको आन्तरिक स्रोत तथा अन्य कर एवम् दस्तुरहरूतर्फ सम्पत्ति करबापत ७ लाख २ हजार ३ सय २५ रुपैयाँ ७० पैसा, भूमिकर तथा मालपोतबापत ६ लाख ४३ हजार ८ सय ५४ रुपैयाँ ९३ पैसा, बहाल करबापत ३९ लाख ४७ हजार १ सय ६७ रुपैयाँ ७२ पैसा, व्यवसायीले भुक्तानी गर्ने करबापत ५७ हजार ४ सय रुपैयाँ, व्यवसाय बाहेक अन्यले भुक्तानी गर्ने करबापत ४ हजार ४ सय रुपैयाँ र कृषि तथा पशुजन्य वस्तुको व्यावसायिक कारोबारमा लाग्ने करबापत १ हजार ७ सय २५ रुपैयाँ आम्दानी भएको छ। यस्तै अन्य कर शीर्षकमा २९ लाख ५४ हजार ७ सय ५५ रुपैयाँ तथा पर्यटन शुल्कबापत उल्लेख्य १४ करोड १ लाख ७० हजार रुपैयाँ संकलन भएको छ।

    यसैगरी अन्य सेवा शुल्क तथा बिक्रीबापत ६६ हजार ४ सय रुपैयाँ, परीक्षा शुल्कबापत ९० हजार ९ सय रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्कबापत ५ लाख ३४ हजार रुपैयाँ, नक्सापास दस्तुरबापत १ लाख १४ हजार १ सय ७६ रुपैयाँ २४ पैसा, सिफारिस दस्तुरबापत ५ लाख ३८ हजार ७ सय २४ रुपैयाँ, व्यक्तिगत घटना दर्ता दस्तुरबापत १ लाख १५ हजार २ सय रुपैयाँ, नाता प्रमाणित दस्तुरबापत १ लाख ६५ हजार ६ सय ५० रुपैयाँ, अन्य दस्तुरबापत २ लाख ९८ हजार ५ सय २५ रुपैयाँ, व्यवसाय रजिष्ट्रेशन दस्तुरबापत २५ लाख ६० हजार १ सय १० रुपैयाँ, अन्य क्षेत्रको आयबापत ३७ लाख रुपैयाँ, अन्य राजस्वबापत ७ लाख ६ हजार ९ सय ५० रुपैयाँ, व्यवसाय करबापत ४ लाख ५४ हजार २ सय ५० रुपैयाँ र बेरुजू असुली आम्दानीबापत १४ लाख ५० हजार ३ सय ९३ रुपैयाँ संकलन भएको गाउँपालिकाको वार्षिक विवरणमा उल्लेख छ।