मंगलबार, १२ श्रावण, २०८३ (1785003300)
आइतबार श्रावण १०, २०८३

‘जेन्जी’प्रति महाकुलुङका अध्यक्ष सूर्य कुलुङको असन्तुष्टि, शिक्षा र स्वास्थ्यमा पालिकाको लगानी उच्च रहेको दाबी

     सोलुखुम्बु — महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्य कुलुङले पछिल्लो समय चर्चामा रहेको ’जेन्जी’ पुस्ताप्रति तीव्र असन्तुष्टि जनाउनुभएको छ सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर १ मा स्थित श्री हिमचुली आधारभूत विद्यालयको अक्षयकोष स्थापना तथा समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कुलुङले यस्तो बताउनुभएको हो । 
   सम्बोधनका क्रममा अध्यक्ष कुलुङले जेन्जी पुस्ताको काम गर्ने शैली र प्रभावप्रति प्रश्न उठाउँदै उनीहरूको कार्यशैलीले दीर्घकालीन रूपमा सकारात्मक परिणाम नदिने दाबी गर्नुभयो । “जेन्जी भन्ने त केही समयपछि धपाउनै वा लखेट्नै पर्छ, यिनीहरूको काम छैन,“ उहाँले भन्नुभयो “हामीले ३५ वर्ष मेहनत गरेर व्यवस्था चलायौँ, अहिले चार–पाँच महिनामै के गरे त यिनीहरूले? त्यसैले मलाई यो जेन्जी भन्ने शब्द र प्रवृत्ति नै मन पर्दैन।“
   अध्यक्ष कुलुङले जेन्जी पुस्ता वा नयाँ सोचका नाममा प्रहरी भवन निर्माण वा अन्य योजनाहरूमा अनधिकृत वा भ्रमपूर्ण कुराहरू ल्याइएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले बुझ्दा वास्तविकता अर्कै पाइने गरेको उल्लेख गर्दै यस्ता कुराहरू स्थानीय तहमा लागू हुन नसक्ने स्पष्ट पार्नुभयो 
   यस्तै, शिक्षक तथा स्वास्थ्यकर्मीको दरबन्दी वा अनुदान कटौती गर्ने सङ्घीय नीतिको आलोचना गर्दै अध्यक्ष कुलुङले भन्नुभयो, “विद्यालयमा शिक्षक र स्वास्थ्य चौकीमा जनशक्ति नै छैन भने कहाँबाट कटौती गर्ने? शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रमा त लगानी बढाउनुपर्छ।“
  महाकुलुङ गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको उहाँले दाबी  गर्नुभयो । उहाँका अनुसार पालिकाले स्वास्थ्य क्षेत्रमा करिब ३ करोड १३ लाख रुपैयाँ र शिक्षा क्षेत्रमा ६ देखि ७ करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेको छ।
   उक्त लगानीकै कारण महाकुलुङको शैक्षिक गुणस्तरमा व्यापक सुधार आएको दाबी गर्दै उहाँले थप्नुभयो, “अहिले महाकुलुङमा जति जनाले एसएलसी÷एसईई परीक्षा दिएका छन्, ती सबै उत्तीर्ण भएका छन्। पहिलाको जस्तो असफलताको स्थिति अहिले छैन।“
   देशको समग्र आर्थिक अवस्थाप्रति टिप्पणी गर्दै अध्यक्ष कुलुङले बजेट कटौती र समयमा रकम निकासा नहुँदा स्थानीय तहलाई समस्या परेको बताउनुभयो । “हामीलाई ४३ करोड रुपैयाँ बजेट आउने भनिएकोमा घटाएर ४० करोडमा सीमित गरियो,“ उहाँले भन्नुभयो, “अहिलेका अर्थमन्त्रीले केही पनि काम गर्न सक्नुभएको छैन, पैसा समयमा दिइएको छैन।“
   कर्मचारीहरूको तलब तथा भत्ता वृद्धिको सन्दर्भमा बोल्दै उहाँले माथिल्लो तहबाट बिना बजेट व्यवस्थापन केवल घोषणा मात्रै गर्दा स्थानीय तहलाई थप आर्थिक भार परेको गुनासो गर्नुभयो । यद्यपि, सबै चुनौतीका बाबजुद पालिकाभित्रका विकास निर्माण, शिक्षा र स्वास्थ्यका कामहरूलाई निरन्तरता दिइने र सबैको सहयोगबाट अघि बढ्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।