मंगलबार, १२ श्रावण, २०८३ (1785089700)
सोमबार श्रावण ११, २०८३

सोलुखुम्बुका चतुर तामाङको नयाँ कीर्तिमानः माउन्ट एल्ब्रस २०० पटक सफल आरोहण

   सोलुखुम्बुः नेपाली पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङले युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर) २०० पटक सफलतापूर्वक आरोहण गर्दै विश्व पर्वतारोहणको इतिहासमा एउटा नयाँ र दुर्लभ कीर्तिमान कायम गर्नुभएको छ । रुसको स्थानीय समयअनुसार शनिबार बिहान ६ः२० बजे एल्ब्रसको शिखरमा पाइला टेकेसँगै उहाँले यो ऐतिहासिक सफलता हासिल गर्नुभएको हो। एउटै हिमाल यति धेरै पटक सफलतापूर्वक आरोहण गर्नुलाई विश्व पर्वतारोहण क्षेत्रमै एक असाधारण र विरलै घट्ने उपलब्धि मानिन्छ।
   यस कीर्तिमानी यात्राको क्रममा तामाङले लगातार विभिन्न अन्तर्राष्ट्रिय आरोही टोलीको नेतृत्व गर्नुभएको थियो। उहाँले जुलाई २२ मा १९८औँ र जुलाई २३ मा १९९औँ पटक सफल आरोहण पूरा गर्नुभएको थियो भने त्यसको लगत्तै जुलाई २५ मा बहुप्रतीक्षित २००औँ आरोहण सम्पन्न गर्नुभएको हो। यस विशेष र ऐतिहासिक अवसरमा उहाँले एल्ब्रसको शिखरमा नेपालको राष्ट्रिय झण्डा फहराउनुभयो। विगतदेखि नै प्रत्येक सफल आरोहणमा शिखरमा नेपाली झण्डा पु¥याउँदै आउनुभएका तामाङले यस पटक पनि नेपालको राष्ट्रिय पहिचान र नेपाली पर्वतारोहीहरूको विश्वव्यापी योगदानलाई उच्च सम्मानका साथ प्रवद्र्धन गर्नुभएको छ।
   सोलुखुम्बुमा जन्मनुभएका तामाङले पर्वतारोहणसम्बन्धी सीप र व्यावहारिक अनुभव हासिल गर्दै सन् १९९५ देखि व्यावसायिक रूपमा आफ्नो आरोहण यात्रा सुरु गर्नुभएको थियो। सन् २००२ देखि रुसमा बस्दै आउनुभएका उहाँले त्यहीँ रहँदा एल्ब्रस हिमाल २०० पटक आरोहण गर्ने अठोट र लक्ष्य लिनुभएको थियो, जुन अहिले साकार भएको छ। हाल तामाङले नेपाल र रुस दुवै देशलाई कर्मथलो बनाउँदै सक्रिय रूपमा पर्वतारोहण गतिविधि सञ्चालन गरिरहनुभएको छ। 
   उहाँले नेपालमा रुसी आरोहीहरूलाई विभिन्न हिमालहरूको सफल आरोहण गराउँदै आउनुभएको छ भने रुसमा अन्तर्राष्ट्रिय आरोहीहरूलाई एल्ब्रसको शिखरसम्म पु¥याउने महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। माउन्ट एल्ब्रसका अलावा तामाङले विश्वको सर्वोच्च शिखर सगरमाथासहित ल्होत्से, कञ्चनजङ्घा, चोयु, मनास्लु, अमादब्लम, बरुन्त्से, आइसल्यान्ड पिक र मेरा पिकलगायतका थुप्रै चर्चित तथा प्राविधिक रूपमा कठिन हिमालहरूको समेत सफलतापूर्वक आरोहण गरिसक्नुभएको छ।