नेपाल शिक्षक महासंघ सोलुखुम्बुको प्रथम जिल्ला परिषद सल्लेरीमा सम्पन्न
सोलुखुम्बुः ’अधिकार र कर्तव्यका लागि शिक्षक एकता’ भन्ने मूल नाराका साथ नेपाल शिक्षक महासंघ सोलुखुम्बुको प्रथम जिल्ला परिषद सदरमुकाम सल्लेरीमा सम्पन्न भएको छ। नेपाल शिक्षक महासंघ सोलुखुम्बुका अध्यक्ष जनक कुमार थापाको अध्यक्षतामा आयोजित उक्त प्रथम जिल्ला परिषदमा जिल्लाभरका आठवटै स्थानीय तहका शिक्षक प्रतिनिधि, शैक्षिक नेतृत्व तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
अग्रजहरूकै योगदानले महासंघ ४ लाख शिक्षकको साझा संस्था बन्योः अध्यक्ष जनक कुमार थापा
कार्यक्रमका अध्यक्ष एवं नेपाल शिक्षक महासंघ सोलुखुम्बुका अध्यक्ष जनक कुमार थापाले शिक्षकहरूको हक–हित, पेशागत सुरक्षा र दूरदृष्टि राखेर अग्रजहरूले सुरु गरेको आन्दोलनकै कारण आज महासंघ विशाल रूपमा उभिन सफल भएको बताउनुभयो।
अध्यक्ष थापाले भन्नुभयोः
“शिक्षकका पेशागत संघ–संगठन स्थापना गर्न र अधिकार प्राप्तिको यात्रामा आफ्नो ज्यानको आहुति दिनुहुने सम्पूर्ण महान् अग्रज शैक्षिक नेतृत्वप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु। उहाँहरूकै दूरगामी सोच र योगदानका कारण आज देशभरका ४ लाखभन्दा बढी विद्यालय शिक्षक तथा कर्मचारीहरूको साझा र शक्तिशाली संस्थाका रूपमा नेपाल शिक्षक महासंघ स्थापित भएको छ। सोलुखुम्बुमा दोस्रो कार्यकालमा आएर यो ऐतिहासिक प्रथम जिल्ला परिषद सम्पन्न गर्ने अवसर पाउनु सम्पूर्ण सोलुखुम्बुका शिक्षक साथीहरूका लागि गर्व र खुसीको विषय हो।“
उहाँले विगतका सडक आन्दोलनहरू र राजनीतिक घटनाक्रमको चर्चा गर्दै शिक्षकहरूको धैर्यतालाई सरकारले कमजोर ठानेको बताउनुभयो। साथै, बीच बाटोमा अलपत्र परेको शिक्षा ऐनलाई अविलम्ब पूर्णता दिएर शिक्षकहरूलाई न्याय दिनुपर्नेमा उहाँले जोड दिनुभयो।
सोलुखुम्बुका आठै पालिकामा महासंघ सक्रिय हुनु गर्वको विषयः मदन कुमार राई
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल शिक्षक संघ सोलुखुम्बुका अध्यक्ष मदन कुमार राईले २०८२ साल जेठ १७ गते केन्द्रीय सदस्य नारायण प्रसाद बास्तोलाको उपस्थितिमा सोलुखुम्बु महासंघले औपचारिकता पाएपछि जिल्लामा शैक्षिक आन्दोलन र संगठन निर्माणले तीव्र गति लिएको स्मरण गराउनुभयो।
अध्यक्ष राईले भन्नुभयोः
“देशका आधा दर्जनभन्दा बढी जिल्लाहरूमा अझै पनि महासंघको जिल्ला कार्यसमिति गठन हुन सकिरहेको छैन। तर हामी भाग्यमानी छौँ—सोलुखुम्बुमा जिल्ला समिति गठन भई आठै वटा स्थानीय तहमा सहजीकरण, सहयात्रा र सहकार्यका साथ महासंघका समितिहरू सक्रिय भइसकेका छन्। केन्द्रीय सडक आन्दोलनदेखि स्थानीय स्तरका शैक्षिक मुद्दामा सोलुखुम्बुका सम्पूर्ण शिक्षक साथीहरूले देखाउनुभएको यो सक्रियता र शक्ति साँच्चै प्रशंसायोग्य छ।“उहाँले सम्पूर्ण शिक्षक साथीहरूको ऐक्यबद्धता र बलकै कारण सोलुखुम्बु महासंघले हरेक पाइलामा सफलता पाइरहेको भन्दै सबैलाई बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो।
नयाँ पुस्तालाई आकर्षित गरेर मात्र शैक्षिक रूपान्तरण सम्भवः खिलक बहादुर कार्की
कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाल राष्ट्रिय शिक्षक संगठन सोलुखुम्बुका अध्यक्ष खिलक बहादुर कार्कीले शिक्षा क्षेत्रको दिगो विकासका लागि नयाँ र ऊर्जावान् पुस्तालाई शिक्षण पेशामा भित्र्याउनुपर्नेमा विशेष जोड दिनुभयो।
अध्यक्ष कार्कीले भन्नुभयोः
“भविष्यका नयाँ तथा युवा पुस्ताहरूलाई शिक्षण पेशा र शैक्षिक क्षेत्रप्रति आकर्षित गराउने वातावरण सिर्जना गर्नुपर्छ। जबसम्म क्षमतावान् र नयाँ पुस्ता शैक्षिक क्षेत्रमा आउँदैनन्, तबसम्म मुलुकको शैक्षिक रूपान्तरण र विकास सम्भव छैन।“
ऐक्यबद्धता र आगामी कार्यदिशा
कार्यक्रममा उपस्थित विभिन्न शैक्षिक घटकका प्रतिनिधिहरूले शिक्षकहरूको पेशागत हक–हित, मर्यादा र दायित्वका विषयमा आ–आफ्नो धारणा राखेका थिए। अधिकारका लागि लड्दै गर्दा कर्तव्यप्रति पनि उत्तिकै जिम्मेवार हुनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए। सल्लेरीमा सम्पन्न यस प्रथम जिल्ला परिषदले सोलुखुम्बुको शैक्षिक वातावरण सुधार्न र सम्पूर्ण शिक्षकहरूलाई एउटै छातामुनि गोलबन्द गर्न ऐतिहासिक भूमिका खेलेको निष्कर्ष निकालिएको छ।
ताजा खबर
सबै- विपद् व्यवस्थापनका लागि सोलुखुम्बुका तीनै सुरक्षा निकायलाई ९ लाख ५० हजार बराबरका सामाग्री हस्तान्तरण
- खुम्बु पासाङ ल्हामुमा ४ करोड ९५ लाखको ’थुक्ला पुल’ निर्माण सम्पन्न, सगरमाथा पदयात्रा अब अझ सहज र सुरक्षित
- नेकपाको ओखलढुंगा इन्चार्ज बने अम्बिरबाबु गुरुङ
- सोलुखुम्बु जिल्ला अदालतले एक वर्षमा ग¥यो २०२ मुद्धाको फैसला
- सोलुखुम्बुका चतुर तामाङको नयाँ कीर्तिमानः माउन्ट एल्ब्रस २०० पटक सफल आरोहण


2026-07-27-07-40-23.jpeg)



