खुम्बु पासाङ ल्हामुमा ४ करोड ९५ लाखको ’थुक्ला पुल’ निर्माण सम्पन्न, सगरमाथा पदयात्रा अब अझ सहज र सुरक्षित
सोलुखुम्बुः विश्वकै सर्वोच्च शिखर सगरमाथातर्फ जाने प्रमुख पदमार्गमा पर्ने पर्यटकीय तथा रणनीतिक महत्त्वको बहुप्रतिक्षित थुक्ला पुल निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा निर्माण गरिएको यस पक्की पुलले अब सगरमाथा आधार शिविरसहित खुम्बु क्षेत्रका विभिन्न हिमाली पर्यटकीय गन्तव्यमा पुग्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक, स्थानीय बासिन्दा तथा भारी बोक्ने मजदुरहरूको आवतजावतलाई थप सुरक्षित, सहज र व्यवस्थित बनाएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका इन्जिनियर दीपकुमार बस्नेतका अनुसार पुलको निर्माण कार्य सम्झौताअनुसार आवश्यक प्राविधिक प्रक्रिया पूरा गरी सम्पन्न गरिएको हो। अत्याधुनिक इन्जिनियरिङ मापदण्डअनुसार निर्माण गरिएको यस पुलको कुल लागत ४ करोड ९५ लाख रुपैयाँ रहेको छ। पुलको लम्बाइ २० मिटर र चौडाइ १ मिटर २० सेन्टिमिटर छ भने यसको भार वहन क्षमता ६२ मेट्रिक टन रहेको छ। प्राविधिक विश्लेषणअनुसार पुलले एकैपटक करिब ४५० जना मानिस वा सोही बराबरको भार सुरक्षित रूपमा धान्न सक्ने क्षमता राख्छ।
आर्थिक वर्ष २०७९÷८० बाट निर्माण सुरु गरिएको यस राष्ट्रिय महत्त्वको आयोजनाका लागि प्रारम्भिक चरणमा संघीय सरकारबाट १० लाख रुपैयाँ सशर्त अनुदान प्राप्त भएको थियो। त्यसपछि आवश्यक बाँकी सम्पूर्ण बजेट खुम्बु पासाङ ल्हामु गाउँपालिकाले आफ्नै आन्तरिक स्रोतबाट व्यवस्थापन गर्दै आयोजना सम्पन्न गरेको हो।
निर्माण कार्य अपेक्षाभन्दा केही समय ढिलो सम्पन्न भएको विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले भौगोलिक र मौसमी चुनौतीलाई मुख्य कारणका रूपमा उल्लेख गर्नुभएको छ । उहाँका अनुसार पुल समुद्री सतहदेखि करिब ४ हजार ६ सयदेखि ४ हजार ७ सय मिटरको अत्यधिक उचाइमा अवस्थित भएकाले वर्षभरि निर्माण कार्य सञ्चालन गर्न सम्भव थिएन। हिउँदको कठोर चिसो, बाक्लो हिमपात, वर्षायाम तथा प्रतिकूल मौसमका कारण वर्षमा सीमित समय मात्रै निर्माण कार्य गर्न सकिने अवस्था रहेको थियो।
उहाँका अनुसार मौसम प्रतिकूल हुँदा प्राविधिक तथा भौतिक निर्माणका काम पूर्ण रूपमा रोक्नुपर्ने बाध्यता थियो। त्यसमाथि अक्सिजनको कमी, अत्यधिक चिसो तथा विकट हिमाली भूगोलका कारण दक्ष तथा अदक्ष कामदारलाई निरन्तर रूपमा कार्यस्थलमा टिकाइराख्न र आवश्यक जनशक्ति उपलब्ध गराउन पनि निकै कठिन भएको थियो। यिनै चुनौतीका कारण आयोजनाको म्याद १० महिनाका लागि थप गरिएको र गुणस्तरीय निर्माणलाई प्राथमिकता दिँदै काम सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताउनुभयो। थोक्ला पुल निर्माण हुनुअघि सगरमाथा क्षेत्रमा जाने पर्यटक, पदयात्री, स्थानीय बासिन्दा तथा भारी बोक्ने खच्चडहरूले गहिरो खोँचमा ओर्लिएर पुनः लामो उकालो चढ्नुपर्ने बाध्यता थियो। विशेषगरी पर्यटकीय याममा यो मार्ग जोखिमपूर्ण, कठिन र समय लाग्ने भएकाले यात्रुहरूले ठूलो सास्ती बेहोर्नुपथ्र्यो।
अब पुल सञ्चालनमा आएपछि उक्त जोखिमपूर्ण यात्रा मिनेटमै छोटिएको छ। सुरक्षित र सहज आवतजावतको सुविधा उपलब्ध भएसँगै सगरमाथा क्षेत्रको पदयात्रा थप व्यवस्थित, सुरक्षित र आकर्षक बनेको गाउँपालिकाले जनाएको छ। पुलका दुवैतर्फ पहुँचमार्ग निर्माण तथा व्यवस्थापनका लागि पनि गाउँपालिकाले आवश्यक बजेटको व्यवस्था गरिसकेको छ।
गाउँपालिकाको अनुसार थोक्ला पुल केवल पूर्वाधार विकासको एउटा आयोजना मात्र नभई खुम्बु क्षेत्रको पर्यटन प्रवद्र्धन, स्थानीय जनजीवनको सहजता तथा सगरमाथा पदमार्गको दीर्घकालीन सुरक्षा र दिगोपनाका दृष्टिले पनि अत्यन्त महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। पुल सञ्चालनमा आएसँगै विश्वकै चर्चित सगरमाथा पदमार्ग अझ सुरक्षित, भरपर्दो र आधुनिक पूर्वाधारयुक्त बनेको विश्वास गरिएको छ ।
ताजा खबर
सबै- विपद् व्यवस्थापनका लागि सोलुखुम्बुका तीनै सुरक्षा निकायलाई ९ लाख ५० हजार बराबरका सामाग्री हस्तान्तरण
- खुम्बु पासाङ ल्हामुमा ४ करोड ९५ लाखको ’थुक्ला पुल’ निर्माण सम्पन्न, सगरमाथा पदयात्रा अब अझ सहज र सुरक्षित
- नेकपाको ओखलढुंगा इन्चार्ज बने अम्बिरबाबु गुरुङ
- सोलुखुम्बु जिल्ला अदालतले एक वर्षमा ग¥यो २०२ मुद्धाको फैसला
- सोलुखुम्बुका चतुर तामाङको नयाँ कीर्तिमानः माउन्ट एल्ब्रस २०० पटक सफल आरोहण

2026-07-27-07-40-23.jpeg)
2026-07-27-07-34-14.jpeg)




