मंगलबार, १२ श्रावण, २०८३ (1785089700)
सोमबार श्रावण ११, २०८३

 सामलेकु खोलामा पुल निर्माण, देउसा माविका विद्यार्थी र स्थानीयको जोखिमपूर्ण यात्राको अन्त्य

  सोलुखुम्बुः  थुलुङ दुधकोशी गाउँपालिका–७ स्थित सामलेकु खोलामा नयाँ पुल निर्माण भएपछि स्थानीय बासिन्दा र विद्यार्थीहरूले बर्खायाममा भोग्दै आएको जोखिमपूर्ण यात्राको अन्त्य भएको छ । वडा नम्बर ७ को . १ लाख ५० हजार बजेट सहयोगमा उक्त पुल निर्माण कार्य सम्पन्न भएको हो।
   वडा नम्बर ७ का वडा अध्यक्ष भोज राज कार्कीका अनुसार विशेष गरी बर्खाको समयमा विभिन्न मूलको पानी र लगातारको वर्षाका कारण उक्त ठाडो खोलामा पानीको सतह अत्यधिक बढ्ने गर्दथ्यो। जसले गर्दा देउसा माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने वडा नम्बर ८ को बुर्खु तथा रणेमका विद्यार्थीहरूलाई विद्यालय पुग्न निकै सास्ती हुने गरेको थियो। खोलामा आउने बाढीका कारण कतिपय अवस्थामा विद्यार्थीहरूको पठनपाठन नै अवरुद्ध हुने स्थिति सिर्जना हुने गरेकोमा पुल बनेपछि अब विद्यार्थी र अभिभावकहरूले ठूलो राहत महसुस गरेका छन्।
   पुल निर्माण सम्पन्न भएसँगै वडा नम्बर ८ बुर्खु र रणेमका स्थानीय नागरिकहरूका लागि पनि देउसा आउजाउ गर्न निकै सहज भएको छ। गाउँपालिका र स्थानीय टोल विकास संस्थाको सहकार्यमा यो सम्भव भएको वडा  अध्यक्ष कार्कीले बताउनुभयो । यसैबिच, स्थानीय क्षेत्रमा आइपरेको समस्यालाई समाधान गर्न अगुवाइ गर्ने सृजनशील टोल विकास संस्थाका अध्यक्ष सोलाहाङ राईलगायत पुल निर्माण कार्यमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा खट्ने सम्पूर्ण सहयोगी हातहरूलाई वडाले  धन्यवाद ज्ञापन गरेको छ्।