मंगलबार, १२ श्रावण, २०८३ (1784916900)
शनिबार श्रावण ९, २०८३

 खाद्यको सोलुखुम्बु शाखाबाट गतवर्ष १ करोड भन्दा बढीको चामल बिक्री

  सोलुखुम्बुः  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय सोलुखुम्बुले आर्थिक वर्ष २०८२÷०८३ मा चामल बिक्रीबाट १ करोड ७९ लाख ५० हजार ६ सय २५ रुपैयाँ राजस्व संकलन गरेको छ। शाखा प्रमुख अमिताप कुमार यादवका अनुसार शाखा कार्यालय सोलुखुम्बु, डिपो कार्यालय लुक्ला र खुम्जुङ बिक्री केन्द्रमार्फत उक्त राजस्व संकलन भएको हो। गत आर्थिक वर्षमा कुल २ हजार १ सय ४४ दशमलव ५ क्विन्टल चामल बिक्री गरिएको कम्पनीले जनाएको छ।
   जसमध्ये शाखा कार्यालय सोलुखुम्बुबाट ८ सय ९९ क्विन्टल चामल बिक्री हुँदा ६४ लाख ३ हजार ३ सय ५० रुपैयाँ राजस्व संकलन भएको छ। त्यसैगरी, डिपो कार्यालय लुक्ला र खुम्जुङ बिक्री केन्द्रबाट १ हजार २ सय ४५ क्विन्टल चामल बिक्री भई १ करोड १५ लाख ४७ हजार २ सय ७५ रुपैयाँ आम्दानी भएको कम्पनीले जनाएको छ।
   हाल शाखा कार्यालयबाट स्टिम जिरा मसीनो, एफ.आर. स्टिम जिरा मसीनो, अरुवा सोना मन्सुली र एफ.आर. अरुवा सोना मन्सुली गरी चार प्रकारका चामल बिक्री वितरण हुँदै आएको छ। स्टिम जिरा मसीनो र एफ.आर. स्टिम जिरा मसीनो चामल प्रतिक्विन्टल ९ हजार २ सय रुपैयाँ तथा २५ केजीको एक बोरा २ हजार ३ सय रुपैयाँमा बिक्री भइरहेको छ। त्यस्तै, अरुवा सोना मन्सुली र एफ.आर. अरुवा सोना मन्सुली चामल प्रतिक्विन्टल ६ हजार २ सय रुपैयाँ तथा २५ केजीको एक बोरा १ हजार ५ सय ५० रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
  कम्पनीका अनुसार हाल शाखा कार्यालय सोलुखुम्बुमा ४ सय ६४ क्विन्टल र लुक्ला डिपो कार्यालयमा २ सय २० दशमलव ७५ क्विन्टल गरी कुल २ सय २० दशमलव ७५ क्विन्टल चामल मौज्दात रहेको छ। उक्त मौज्दातले जिल्लाको खाद्य आवश्यकतालाई करिब चार महिनासम्म सहज रूपमा धान्न सक्ने अनुमान कम्पनीले गरेको छ । कार्यालयका अनुसार हाल दैनिक १५ देखि २० क्विन्टलसम्म चामल बिक्री भइरहेको छ । विपद्का समयमा आवश्यक पर्ने चामल पर्याप्त मौज्दातमा रहेको र यसबारे जिल्लाका सबै स्थानीय तहलाई जानकारी गराइसकिएको समेत शाखा प्रमुख यादवले बताउनुभयो ।सदरमुकामबाट लुक्ला डिपोको लागि ट्याक्टर र खच्चडको माध्ययमबाट चामल ढुवानी गरिदै आएको छ ।