शनिबार, ९ श्रावण, २०८३ (1784484900)
सोमबार श्रावण ४, २०८३

सोलुखुम्बुमा एकै वर्षमा ७२ लाखभन्दा बढीको नुन बिक्रीः गत वर्षको तुलनामा माग र कारोबार दुवैमा वृद्धि

        सोलुखुम्बुः     साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डिपो कार्यालय सोलुखुम्बुले ७२ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको आयोडिनयुक्त नुन बिक्री गरेको छ। कार्यालयले चालू आर्थिक वर्ष २०८२÷८३ को साउन महिनादेखि असार मसान्तसम्मको अवधिमा जिल्लाभर कुल ७२ लाख ८२ हजार ७९ रुपैयाँ बराबरको नुन बिक्री गरेको हो। यस अन्तर्गत सल्लेरी डिपोबाट ४८ लाख ६ हजार २६९ रुपैयाँ र सोताङ डिपो तथा बिक्री केन्द्रबाट २४ लाख ७५ हजार ८१० रुपैयाँको नुन बिक्री भएको डिपो कार्यालयका प्रमुख श्याम प्रसाद शाहले जानकारी दिनुभएको छ। परिमाणका आधारमा हेर्दा यस वर्ष जिल्लाभर कुल ८ हजार ९१ क्वीन्टल २१ केजी नुन खपत भएको छ, जसमा सल्लेरी क्षेत्रमा ५ हजार ३४० क्वीन्टल ३१ केजी र सोताङ तथा महाकुलुङ क्षेत्रमा २ हजार ७१६ क्वीन्टल ९० केजी नुन वितरण गरिएको छ।
   गत आर्थिक वर्ष २०८१÷८२ को तुलनामा चालू आर्थिक वर्ष २०८२÷८३ मा नुनको बिक्री र उपभोगमा उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाउँछ। गत आर्थिक वर्ष २०८१÷८२ मा जिल्लाभर कुल ७ हजार ५४७ क्वीन्टल ५० केजी नुन बिक्री भएको थियो, जसमा ६९ लाख २८ हजार ६५० रुपैयाँ बराबरको कारोबार भएको थियो। गत वर्षको तुलनामा यस वर्ष नुनको बिक्री परिमाणमा ५४३ क्वीन्टल ७१ केजीले वृद्धि भएको छ भने आर्थिक रूपमा ३ लाख ५३ हजार ४२९ रुपैयाँ बढीको कारोबार भएको देखिन्छ। यसले जिल्लामा आयोडिनयुक्त सहुलियत नुनको माग र नागरिकको पहुँच वर्षैपिच्छे बढ्दै गएको पुष्टि गर्दछ।
    डिपो कार्यालयका प्रमुख श्याम प्रसाद शाहका अनुसार सोलुखुम्बु जिल्लाका नागरिकहरूलाई सहज र सुलभ तरिकाले नुन उपलब्ध गराउन हाल दुईवटा मुख्य स्थानहरूबाट सहुलियत दरमा बिक्री वितरण भइरहेको छ। नागरिकहरूले सदरमुकामस्थित सल्लेरी डिपो र सोताङमा रहेको लालीगुराँस महिला सहकारी संस्थामार्फत नेपाल सरकारले तोकेको सहुलियत मूल्यमा नुन प्राप्त गर्दै आएका छन्। भौगोलिक विकटताका बावजुद सोताङ गाउँपालिका र महाकुलुङ गाउँपालिका क्षेत्रका लागि सोताङको महिला सहकारीमार्फत र बाँकी रहेका अन्य सबै स्थानीय तहहरू तथा सल्लेरी आसपासका सरकारी कार्यालयहरूमा सल्लेरी डिपोमार्फत सिधै नुन बिक्री वितरण गर्ने प्रबन्ध मिलाइएको प्रमुख शाहले बताउनुभयो।
   जिल्लाका विभिन्न स्थानीय तहहरूमध्ये सोलुदुधकुण्ड नगरपालिका, माप्य दुधकोशी गाउँपालिका र थुलुङ दुधकोशी गाउँपालिकामा नुनको माग सबैभन्दा बढी रहेको कार्यालयको तथ्याङ्क छ। चालू आर्थिक वर्ष २०८२÷८३ मा सोलुदुधकुण्ड नगरपालिका क्षेत्रमा मात्र १ हजार ७३६ क्वीन्टल ३१ केजी नुन खपत भएको छ भने थुलुङ दुधकोशी गाउँपालिकामा १ हजार ५३८ क्वीन्टल र माप्य दुधकोशी गाउँपालिकामा १ हजार १५० क्वीन्टल ५० केजी नुन बिक्री भएको छ। 
   यसैगरी नेचासल्यान गाउँपालिकामा ८२६ क्वीन्टल ५० केजी, खुम्बु पासाङल्हामु गाउँपालिकामा ३१ क्वीन्टल र लिखुपिके गाउँपालिकामा ७ क्वीन्टल नुन बिक्री भएको छ भने विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरूका लागि १६ क्वीन्टल नुन उपलब्ध गराइएको छ। गत वर्षको तुलनामा सोलुदुधकुण्ड, माप्य दुधकोशी र थुलुङ दुधकोशीमा मागको चाप उच्च रहे पनि साल्ट ट्रेडिङले स्थानीय माग र आवश्यकतालाई मध्यनजर गर्दै निरन्तर ढुवानी र चुस्त वितरण गरिरहेको छ।
    नुन मानव स्वास्थ्यका लागि एक अत्यावश्यक र संवेदनशील सूक्ष्म पोषक तत्व भएकाले यसको आपूर्ति व्यवस्थापनमा डिपो कार्यालयले उच्च सतर्कता र तत्परता अपनाउँदै आएको छ। हिमाली तथा विकट पहाडी भूगोल भएको सोलुखुम्बु जिल्लामा हिउँदको समयमा वा वर्षातका कारण सडक अवरुद्ध हुँदा समेत नुनको अभाव हुन नदिन पर्याप्त मौज्दात राख्ने गरिएको डिपो प्रमुख शाहको भनाइ छ। नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी आयोडिनयुक्त नुनको आपूर्तिमा कुनै पनि बहानामा कमी आउन नदिने र आगामी दिनमा पनि बजारको माग अनुसार पर्याप्त मात्रामा नुन बिक्री वितरणको व्यवस्थापन मिलाइने प्रतिबद्धता डिपो कार्यालयले व्यक्त गरेको छ।